Breaking

सरकारले भूमिहीन सुकुम्बासीको समस्या समाधानमा वेवास्ता गर्‍यो: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको समस्याप्रति वेवास्ता गरेको बताएका छन् । रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको बहुउद्देश्यीय भ्युटावरको उद्घाटन गर्दै उनले गठबन्धन सरकारले आयोग खारेज गरेर विभिन्न बहाना खोजिरहेको बताए । सरकारले सुकुम्बासी समाधान आयोगमा बन्चरो चलाएर अघिल्लो सरकारले फाइल लुकाएको बहाना बनाउँदै हिँडेको बताए । भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको आयोगलाई नै खारेज गरेर गठबन्धन सरकारले अघिल्लो सरकारको फाइल लुकाएको बहाना बनाउँदै हिँडेको छ,’ उनले भने ।

उनले अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँडेकाहरू अहिले फाइल खोज्न दिल्ली जान थालेको व्यंग्य समेत गरे । उहाँहरूले केही बहाना नपाएर अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँड्नु भएको छ,’ उनले भने, ‘त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदै हुनुहुन्छ ।’ ओलीले पहिले र अहिलेको विकासको चेतनाको अवधारणामा परिवर्तन आएको भन्दै यो परिवर्तन एमालेले ल्याएको दाबी गरे । २०५१ सालमा बनेको नौ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ भनेर विकासको अभियान सुरू गरेकाले अहिले पनि गाउँगाउँमा विकासका कामले निरन्तरता पाएका छन् । त्यतिबेला एमालेको सरकार बन्दैनथ्यो भने अहिलेको विकासको लहर आउने थिएन,’ उनले भने ।

उनले निर्वाचनमा जनताको घरआँगन जाँदा एमाले सरकारमा आएपछि देशभर के परिवर्तन भयो, विकास निर्माणका काम के के भए भन्ने कुराहरू लिएर जान नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै विषादीको प्रयोग भएका खानेकुराले मानिसलाई रोगी बनाइरहेको भन्दै त्यस्ता खानेकुरालाई आयात गर्न बन्द गर्नुपर्ने उनले बताए । त्यसैले विषादीरहित खानेकुराका लागि उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बताए । चेतनामा विकास भएपछि भौतिक विकासले आफैं पछ्याउँछ, घरअगाडि चिल्ला सडक छन् तर भान्सामा विषादी भित्रिएको छ भने त्यस्तो विकासको के अर्थ,’ उनले भने ।