विदेश

युक्रेनलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै, चीनको समर्थन रुसलाई


काठमाडौँ – यतिवेला युक्रेन र रुसको विवादका विषयमा विश्व विभाजित छ । अमेरीका सहित पश्चिमा देश युक्रेनको पक्षमा उभिदा चीनले रुसको समर्थन गर्ने जनाएको छ ।

विगत केहि महिनादेखी रुसले युक्रेनको सीमामा आफ्ना करिब १ लाख सैनिक तैनाथ गरिरहेको छ । जसका कारण विश्वको ध्यान रुस र युक्रेनको द्वन्दमा केन्द्रीत छ । त्यसमाथि अमेरिका युक्रेनको पक्षमा उभिएको छ र रुसले आक्रमण गरे आफ्ना सेना पठाउने भन्दै ८ हजार ५ सय सैनिक हाइअलर्टमा राखेको छ त्यस्तै, करिब २ हजार सैनिक जर्मनी र पोल्याण्ड पठाउने निर्णय अमेरीकाले गरिसकेको छ ।

अमेरिकाले ‘ब्ल्याक सी’ मा आफ्नो युद्धपोतसमेत पठाएको छ । साथै, उसले युक्रेनको राजधानी किभमा रहेका आफ्ना कुटनीतिज्ञ र उनीहरुका नातेदारलाई निकाल्ने आदेशसमेत दिइसकेको छ ।
त्यसैगरी, रुसलाई विश्व सैन्य शक्ति राष्ट्र चीनले युक्रेनमाथि आक्रमण भए आफु सहयोग गर्ने बताई सकेको छ । यी सवै घटनाले तेस्रो विश्वयुद्ध अव रुस र युक्रेनको विवादका कारण हुने कतिपयले आँकलन गरेका छन् ।

कतिले यसलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सनक मान्छन् भने कतिले यसलाई शीतयुद्धतर्फ बढ्ने प्रयासको रुपमा हेरिरहेका छन् । रुस र युक्रनकाबीचको तनावले विश्वभरीका विदेश मन्त्रालयमा अशान्ति पैदा भएको छ । जसले खुला रुपमा यी दुई देशका बीच सम्भावित युद्धको कुरा गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोमाथि सुरक्षाको बेवास्ता गरेको खुलमखुला आरोप लगाउँदै अन्य कुराका साथै नेटोले युक्रेन र सोभियत संघका पूर्व घटक देशलाई यो संगठनको सदस्य देश बन्नबाट रोक्न भनेका छन् ।

सन् १८१२ मा नेपोलियनको आक्रमणको समयदेखि नै युक्रेनका इलाकाले रुसका लागि एक बफर जोनको रुपमा काम गर्दै आएको छ । युक्रेन रुसको पश्चिमी सीमामा छ । जब रुसमाथि दोस्रो विश्व युद्धको समयमा पश्चिमबाट हमला भएको थियो त्यतिबेला यो युक्रेनकै क्षेत्र थियो । त्यहिँबाट उसले आफ्नो रक्षा गरेको थियो ।

युक्रेन त्यो सुरक्षा क्षेत्र हो, जसलाई रुस जुनसुकै हालतमा प्राप्त गर्न चाहन्छ । किनकी यसले रुसलाई बचाएको थियो । त्यहाँबाट रुसको राजधानी मस्को १००० माइल अर्थात् १६०० किलोमीटरको दुरीमा रहेको छ । रुस युक्रेनलाई कुनै छुट्टै देशको रुपमा हेर्दैन । साथै उसले युक्रेनलाई आफ्नो मुटु पनि मान्छ । युक्रेनको विषयमा यो रुसको एउटा निकै शक्तिशाली धारणा हो जुन उसको मूल पहिचानमा निहित छ ।

युक्रेनको मुद्दामा रुसी राष्ट्रपति पुटिनको निजी भावना पनि जोडिएको छ । पुुटिनले युक्रेनमा कयौँ पटक रुसको पक्षमा रहने नेतालाई सत्तामा ल्याउने कोसिस गरेका थिए । तर उनी असफल भए ।

अमेरिका लगायत पश्चीमा राष्ट्र एकातिर र अर्कोतिर चीन सहित रुस एकातिर भएको प्रस्ट खुिलसकेको छ । जसका कारण विश्व समुदायले शीतयुद्ध सुरु हुने हो की भन्ने आंकलन गरेका छन् ।