समाचार

एनआरएनएको महाधिवेशन फेब्रुअरी २८ भित्र हुने निश्चित


काठमाडौँ – गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको १० अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २८ भित्र हुने निश्चित भएको बताएका छन् । संघका प्रवक्ता डिबी क्षेत्रीले अध्यक्ष पन्तको भनाई उदृत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रवक्ता क्षेत्रीले महाधिवेशन प्रतिनिधिका सम्बन्धमा निकास दिन बनेको उच्चस्तरीय समितिको बैठक त्यसका संयोजक डा.शेष घले अस्वस्थ भएका कारण बस्न नसकेको समेत जानकारी दिएका छन् ।

संघको अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा निकास दिनका लागि प्रमुख संरक्षक डा.शेष घलेको संयोजनमा ७ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले प्रतिनिधिका सम्बन्धमा आज निर्णय दिने समय तालिका घोषणा गरेपनि संयोजक घले कोरोना संक्रमित भएपछि बैठक बस्न नसकेको क्षेत्रीले बताएका छन् ।

प्रतिनिधि विवादका कारण संघको अन्तर्राष्ट्रिय महाधिवेशन पटक पटक स्थगित हुँदै आएको छ ।