देश

मौसमी प्रतिकुलताका कारण हुन सक्ने क्षतिप्रति सर्तक रहन सरकारको अपिल, कहिले आउँछ सुधार ? (भिडियोसहित)


काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण खराब बनेको नेपालको मौसममा अझै सुधार आएको छैन । मौसममा आएको बदलीका कारण उपत्यकासँगै देशका अधिकांश भु–भागमा भारी वर्षा र हिमपातसँगै चिसो बढेको छ । हिमपात र वर्षाका कारण केहि स्थानमा मानवीय क्षति समेत भएको छ ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा विहिबार बेलुका देखि जारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । देशका धेरै स्थानमा भारी हिमपात, मेघ गर्जन, चट्याङसहित वर्षाका कारण जनजीविन प्रभावित बनेको हो ।

कतिपय स्थानमा मानवीय क्षेति समेत भएको छ । मधेश प्रदेशको धनुषा सबैला नगरपालिका—१२ को फकिरचन्द उच्च माविमा हावाहुरीले रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ । रौतहटमा घर ढल्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । गएराती चट्याङमा परी सुर्खेतमा भेरीगंगा नगरपालिका–११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्री र सल्यानमा बनगाड कुपिण्डे नगरपालिकाका चालीस वर्षीया रामकली कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ सहित वर्षा हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार अप्रहन्नपछि पश्चिम भूभागबाट क्रमश मौसममा सुधार हुँदै जानेछ ।

शनिबारबाट मौसममा क्रमश सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरकारले मौसममा आएको प्रतिकुलताका कारण हुन सक्ने क्षतिप्रति सजगता अपनाउन आम सर्वसाधरण अपिल गरेको छ ।