विदेश

शीतकालीन ओलम्पिकले सी र पुटिनको सम्बन्ध थप बलियो


काठमाडौँ – चीनको बेइजिङमा शुक्रबारदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । फेब्रुअरी २० सम्म सञ्चालन हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महाचिव, विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत करिब दुई दर्जन देशका राष्ट्रप्रमुख एवं सरकार प्रमुख सहभागी हुँदैछन् ।

बेइजिङ ओलम्पिकमा १५ विधाका खेलमा ९१ देशका २ हजार ८७४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यसमा नेपालले भने भाग लिएको छैन ।

शक्ति राष्ट्रका टकराबको छायामा बेइजिङ ओलम्पिक

हाल ठूला शक्ति राष्ट्रहरु बीच चलिरहेको टकरावले बेइजिङ ओलम्पिक केही छायामा परेको छ । चीन, अमेरिका, रुस र पश्चिमा देशको तनावले ओलम्पिक ओझेलमा परेको विज्ञहरुको बुझाई छ ।

चीन मानवअधिकारको अवस्था र उसको ताइवानसँगको सम्बन्धलाई लिएर कूटनीतिक बहिस्कार गरेको संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडालाई जापान, जर्मनी, बेल्जियम, डेनमार्क र इस्टोनियाले पनि साथ दिएका छन् ।

सन् २००८ मा चीनले आयोजना गरेको ग्रीष्मकालीन ओलम्पिकमा भने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस पनि सहभागी भएका थिए ।

नेटो साझेदार फ्रान्सले भने कूटनीतिक बहिस्कारको अर्थ नभएको बताएको छ ।

बेइजिङ ओलम्पिकमा अमेरिकी खेलाडीको बाहुल्य

यद्यपि, यी देशले ओलम्पिकमा खेलाडीको सहभागितलाई भने निषेध गरेका छैनन् । बरु, बेइजिङ ओलम्पिकमा सबैभन्दा धेरै अमेरिकी खेलाडी सहभागी हुँदैछन् । अमेरिकाका २२२ जना खेलाडीले भाग लिएका छन् । कूटनीतिक बहिस्कार गरेको क्यानडाबाट २१५ खेलाडी सहभागी हुँदैछन्, जुन आयोजक चीनबाट भाग लिने खेलाडीको संख्याभन्दा पनि धेरै हो । चीनका १७० खेलाडीले भाग लिएका छन् ।

झण्डै एक अर्ब ४० करोड जनसंख्या भएको भारतबाट भने एकजना खेलाडी मात्रै सहभागी हुँदैछन् ।

युक्रेन संकटको प्रभाव

युक्रेनको मामिलालाई लिएर रुस र पश्चिमा देशबीच प्रभाव पनि बेइजिङ शीतकालीन ओलम्पिकमा परेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रूपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

चीन र अमेरिका एवं रुस र पश्चिमा देशबीच टकराब बढेका बेला चीन र रुस भने थप नजिकिएका छन् । बेइजिङ शीतकालीन ओलम्पिकमा रुसी राष्ट्रपति पुटिनलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले स्वागत गर्दैछन् ।

अमेरिकी नेतृत्वको पश्चिमा देशले युक्रेनसँगको सम्बन्धलाई लिएर रुसले अर्थतन्त्र लगायत विविध विषयमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइरहेका बेला बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ समाचार संस्था सिह्वामा लेख लेख्दै रुसी राष्ट्रपति पुटिनले चीनसँगको सहकार्यलाई मजबुत बनाउने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले भ्रमणका विशिष्ट अतिथिहरूका लागि राजकीय भोजको आयोजना गर्नेछन् । तर, अहिलेसम्म रुसी राष्ट्रपति पुटिनसँग मात्रै द्विपक्षीय बैठक तय भएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ । एजेन्सी