काठमाडौँ – सडक विस्तारको क्रममा हटाइएका बालाजु बाइपासस्थित ३९ घर परिवारले विरोध जनाएको छ । साँघुरो बाटोलाई विस्तार गर्ने क्रममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको भन्दै संघर्ष समितिले विरोध गरेको हो ।
अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकोमा समितिले आपत्ति जनाएको हो । उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी गर्दै कानून विपरीतका यस्ता काम रोक्न माग गरेको छ ।
समितिले पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउनु पर्ने पनि उनीहरुले माग गरेका छन् । अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।
अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ ।


प्रतिक्रिया