राजनीति

चुनावको विषयलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका छन् ।

पार्टीभित्र छलफल नै नगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै उनीहरुले बैठकको माग गर्दै आएका थिए । चुनावको मिति र चुनावमा अरु दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ ।

प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच फरक मत देखिएको हो । कोइराला समूहले स्थानीय चुनाव कुनै पनि बहानामा पर धकेल्न नहुने बताउँदै आएको छ ।

पालिकाको चुनाव वैशाखभन्दा पर सारेमा संविधान नै धरापमा पर्ने कोइराला समूहको निष्कर्ष छ । केही दिनअघि छुट्टै भर्जुअल बैठक गरेर कोइराला समूहले गठबन्धन वर्तमान सत्ता सञ्चालनका लागि सीमित हुनुपर्ने तर तीनवटै तहको चुनावमा पार्टीले गठबन्धन गर्न नहुने समेत निष्कर्ष निकालेको थियो ।