विदेश

कोभिड तत्काल सकिने सम्भावना न्यून, नयाँ भेरियन्ट आउन सक्ने डब्लुएचओ चेतावनी


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको बताएका छन् । डब्लुएचओको जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा.टेडरोजले गत हप्ता विश्वभर ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताएका छन् ।

ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि उनले दिएका छन् । उनले विश्वका नेताहरूलाई चेतावनी दिँदै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन् । पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिइरहेका छन् । फ्रान्समा एकैदिन करिब पाँच लाख नयाँ संक्रमित थपिएका थिए ।