देश

चिसोका कारण सिरहामा एक वृद्धाको मृत्यु


काठमाडौँ – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ की ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको वडाध्यक्ष राजाराम कामतीले जानकारी दिनुभयो । यसअघि गत मंगलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्याका विरामी बढेका छन् ।