काठमाडौँ – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ गुणासम्म बढ्न थालेसँगै महामारीको तेस्रो लहरको संकेत देखिएको छ । भारतमा पछिल्लो ७ दिन भित्र कोरोना संक्रमितको संख्या ५ सय प्रतिशतले वृद्धि भएको छ भने पछिल्लो २४ घण्टामा भारतभरी ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
भारतमा दोस्रो लहरको समाप्तिपछि यो नै एकै दिन देखिएको ठूलो वृद्धि हो । यही गति कायम रहेको खण्डमा आगामी एक साताभित्र संक्रमण अनियन्त्रित हुन सक्ने विज्ञहरुको दाबी छ । भारतको राजधानी दिल्लीमा गरिएका नमूना परीक्षणमध्ये ८४ प्रतिशतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । जीन सिक्वेन्सिङका लागि डिसेम्बर ३० र ३१ गते गरिएको परीक्षणमध्ये ८४ प्रतिशत नमूनामा ओमिक्रोन भेरियन्ट फेला परेको दिल्लीका स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
सोमबार अबेर सार्वजनिक गरिने दिल्लीको स्वास्थ्य बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर पछिल्ला दिनमा दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको तथ्याङ्कले देखाउँछ ।


प्रतिक्रिया