राजनीति

पितृको नाममा श्राद्ध गर्न ज्ञानेन्द्र गोकर्णेश्वरमा


काठमडौँ – बिहीबार बिहान पूर्व राजा ज्ञानेन्द्र शाह गोकर्णेश्वरको उत्तरबाहिनी पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित उत्तरबाहिनीस्थित उत्तरगया पुगेका हुन् ।

शाहले उत्तरगयामा आफ्ना दिवङ्गत पितृको नाममा श्राद्ध गरेका थिए । गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उनी त्यहाँ पुगेका थिए । आफ्ना पितृका नाममा केही दशक पहिला तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा आइ यहाँ अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए ।

उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नामले चिनिन्छ । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम् मान्यता रही आएको छ ।