मौसम

देशभर कतै, वर्षा कतै हिमपात : कहिले सुधार आउँछ मौसममा ?


काठमाडौँ – मंगलबार रातिदेखि जारी वर्षाको कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । नेपालमा मौसम परिवर्तन भएसंगै मंसिर, पुस र माघ महिनामा तापक्रम चिसिएर जनजीवन प्रभावित हुने गर्दछ । देशभर हिमपात र वर्षाका कारण चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसविद्ले सुझाव दिएका छन् ।

वर्षा र हिमपातसँगै बढेको चिसोले देशभरको जनजीवन प्रभावित भएको छ । वर्षासँगै मौसम नखुल्दा हवाई तथा सडक यातायात प्रभावित भएका छन् । बुधबार दिनभर देशभर मौसम बदली भई अधिकांश ठाउँमा बर्षा भइरहेको छ । हिमपातका कारण जाजरकोट, रुकुम पश्चिम, हुम्ला, डोल्पा र मनाङको जनजीवन प्रभावित भएको छ ।

हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात जारी छ । हिमपात र वर्षासँगै चिसो बढेपछि स्थानीयवासी र पशुचौपायाहरू प्रभावित भएका छन् । अहिले खुम्बु क्षेत्रमा हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ । मंगलबार रातीदेखि नै हिमपात भएसँगै कतिपय ठाउँमा चिसोका कारण नागरिकहरु जनजीवनमा प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान समेत प्रभावित भएको छ । चन्द्रगिरीलगायत आसपासका डाँडाकाँडामा हिउ परिरहेको छ । देशको पश्चिम तराईका एक वा दुई स्थानमा हुस्सु लागेको र तराईका धेरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले चिसो धेरै बढेको कारण नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

अति आवश्यक काम परेर घर बाहिर निस्किनैपर्नेहरु पनि पानीबाट प्रभावित भएका छन् । कतिपय भने चिसो बढेपछि आगो तापेर न्यानो हुने कोसिसमा छन् । यता सर्वसाधारण पनि वर्षाका कारण दैनिकी प्रभावित बनेको बताउँछन् ।

मौसम विभागका अनुसार आगामी तीन दिन सम्म देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानहरूमा भोलिसम्म हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि साँझबाट मौसममा क्रमस सुधार आउने मौसमविद्ले जनाकारी दिएका छन् ।