देश

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित


काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो ।

मन्त्रालयले सूचना जारी गर्दै स्थानीय कर्मचारीको सरुवा स्थगित गरेको जानकारी दिएको हो । हाल सरुवा स्थगित भएका कर्मचारीहरुलाई पछि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । अधिकारीका अनुसार संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने रोकिने छैन ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।