विदेश

इरानी तेलको ऋण चियाले तिर्ने श्रीलंकाको योजना


काठमाडौँ – श्रीलंकाले इरानबाट विगतमा तेल आयात गर्दा लागेको ऋण चियाले तिर्ने योजना बनाएको श्रीलंकाली एक मन्त्रीले बताएका छन् । रमेश पाथिरानाले श्रीलंकाले प्रत्येक महिना ५० लाख डलर मूल्यको चिया इरानमा पठाएर २५ करोड १० लाख डलर ऋण तिर्ने आशा गरेको बताए ।

श्रीलंकाले ठूलो ऋण र विदेशी मुद्रा संकटको सामना गरिरहेको छ । यसलाई कोरोना भाइरस महामारीको समयमा पर्यटक आम्दानीमा भएको नोक्सानीले अझ खराब बनाएको छ । श्रीलंकाको चिया बोर्डका एक सदस्यले वैदेशिक ऋण तिर्न पहिलो पटक चिया साटासाट गरेको बताए ।

पाथिराले चिया मानवीय आधारमा खाद्य वस्तुको रूपमा वर्गीकृत गरिएकाले भुक्तानीको तरिकाले संयुक्त राष्ट्रसंघ या अमेरिकाको प्रतिबन्धहरू उल्लंघन नगर्ने बताए । उनले कालो सूचीमा परेका कुनै पनि इरानी बैंकहरू यसमा संलग्न नहुने पनि बताए ।