काठमाडौँ – साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गर्नु भएको हो ।
यस अघि १३ औं संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रीपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही अनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।
पुरस्कार वितरण पछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाउन खेलाडीले गरेको मिहिनेतप्रति आभार व्यक्त गर्नु भयो ।


प्रतिक्रिया