काठमाडौँ – यतिबेला चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । आफूहरु लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले आइतबारदेखि काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिले जनाएको छ । प्रदर्शनका सहभागीहरुले आफूहरुले खनजोत गर्दै आएको जमिनको पूर्जा तत्काल दिइनु पर्ने माग गरेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका नेताहरु राज्यको उच्च तहमा पुग्दा पनि बाँदरझुलाका जनता भने लालपूर्जा बिहीन हुनु दुखद भएको बाँदरझुलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।
अहिले आफुहरु केहि प्रतिनिधि रुपमा मात्रै काठमाडौं आएको भन्दै आफुहरुको माग पुरा नभए बाँदरझुलाका सम्पूर्ण पीडितहरु काठमाडौं आई बिरोध प्रदर्शन गर्ने उनीहरुको भनाई छ । न्याय पाइने भरोसामा गंगामायाको टोली यसअघि चितवन जिल्ला प्रशासन कार्यालय, माडी गाउँपालिकाको कार्यालय पुग्यो । पटकपटक धाउँदा पनि त्यहाँ उनीहरूको माग सम्बोधन भएन। जिल्लामा माग सुनुवाइ नभएपछि पीडित सुकुमवासी समुदाय अहिले काठमाडौं आइपुगेको हो । बाँदरझुलामा करिब ७ सय घरधुरी छन् । तीमध्ये कसैको पनि आफ्नै नामको जग्गा छैन। सबै अन्यन्त्रैबाट बसाइँ सरेर त्यहाँ पुगेका हुन् ।
विसं। २०१८ सालदेखि बाँदरझुला क्षेत्रमा बाहिरी मानिसहरू बसोबास गर्न थालेका थिए । उक्त जग्गा सरकारको नाममा छ। २०१८ सालअघि उक्त क्षेत्रमा नेपाली सेनाले केही क्याम्प खडा गरेका थिए । सेनाले क्याम्प छाडेर अन्तै गएपछि त्यस ठाउँमा बाहिरी मानिसहरू आएर बस्न थालेका थिए । थोरैथोरै गर्दै करिब ४० वर्षको अवधिमा बाँदरझुला क्षेत्रमा बसोबास गर्ने सुकुमवासीको संख्या ७ सय पुगेको छ । तर, ठूलो मानववस्ती बसेको ठाउँमा सरकारी सेवा सुविधा भने केही पनि छैन ।


प्रतिक्रिया