काठमाडौँ – सहीद स्मारक ए डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेलहरु सकिएका छन् । सोमबार सकिएको पाँचौं चरणको अन्तिम खेलमा विभागीय क्लब एपीएफले पहिलो जित निकाल्दै रेलिगेशन जोनबाट माथि उक्लिएर तालिकाको ११ औं स्थानमा रहेको छ ।
चौथो चरणको खेलमा पहिलो अंक जोडेको एपीएफले पाँचौं चरणमा फ्रेन्ड्स क्लबमाथि जित दर्ता गर्दै ३ अंक थप्दा जावलाखेललाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो । समान ४ अंक रहेको जावलाखेल १२ औं स्थानमा रहँदा च्यासल युथ क्लबको पनि समान ४ अंक रहे पनि रेलिगेशन जोनमा रहेको छ । यसैगरी अहिलेसम्म २ अंक मात्रै जोडेको फ्रेण्ड्स क्लब पुछारमा रहेको छ । पाँचौं चरणमा हिमालयन शेर्पाले पनि पहिलो जित दर्ता गर्न सफल भयो । चौथो चरणको खेलबाट शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लब पाँचौं चरणको समाप्तिमा दोस्रो स्थानमा झरेको छ । यो चरणमा जावलाखेल युथ क्लबले पनि पहिलो जितको स्वाद चाख्न सफल भयो । जावलाखेलले च्यासलमाथि १ गोलको जित दर्ता गरेको थियो । पाँचौं चरणको खेल सकिँदा चौथो चरणको जस्तै चार टिम नै अपराजित रहे ।
यो चरणमा पनि जित निकाल्दै मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा उक्लन सफल भयो । ५ खेलबाट १३ अंक बनाएको मनाङले दोस्रो स्थानमा रहेको मच्छिद्र क्लबलाई २ अंकले पछि पारेको छ । मच्छिन्द्रलाई संकटासँगको गोलरहित बराबरी खेल्दा ठूलो घाटा लाग्यो । तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र चौथो स्थानको संकटाको समान ९–९ अंक रहेको छ । पाँचौं चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग फुटबल काठमाडौं उपत्यका भन्दा बाहिर पनि खेलाइयो ।
यो लिगमा मनाङले पोखराको फुटबल मैदानलाई घरेलु मैदानको रुपमा प्रस्ताव गरेको थियो र एन्फाले स्वीकृति दिए पछि पहिलो पटक ए डिभिजन लिग पोखरा रंगशालामा आयोजना हुन सक्यो । यो अहिलेसम्मकै मनाङका लागि ठूलो उपलव्धि र अन्य क्लबलाई भने दबावको रुपमा रहेको छ । मनाङले पोखरामा पुलिससँग खेल्दै ३–१ गोल अन्तरले पराजित गरेको थियो ।


प्रतिक्रिया