काठमाडौँ — योमरी पुन्हिः अर्थात ओमरी पूर्णिमा र उद्योली पर्व आइतबार हर्षोल्लासका साथ मनाइएको छ । मार्ग शीर्ष शुक्ल पूर्णिमाको दिन नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा योमरी पुन्हिः र किराँत समुदायले उधौली पर्वका रुपमा मनाउने गरेका छन् ।
हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिन नेवार जातिले योमरी पुन्हीः मनाउने गरेका छन् । तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको परिकार यस पर्वको विशेष खाद्य परिकार हो । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । नेवार समुदायले उल्लासपूर्वक मनाउने यस चाडलाई रसिलो पर्वको रुपमा पनि लिने गरिन्छ । योमरी नामक परिकार खाइने भएका कारण यस पर्वलाई पुन्ही भन्ने गरिएको जानकारहरु बताउँछन् ।
त्यस्तै किराँत समुदायले पनि उधौली पर्व धुमधामका साथ मनाएको छ । राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायुलगायतका जातजातिले यो पर्व मनाउने गरेका छन् । किराँत समुदायले पूख्र्यौंली थलोमा उधौली मनाउने गरेको भए पनि पछिल्लो समय फरक फरक स्थानमा पनि मनाउन थालिएको छ । उधौलीमा किराँतहरुले आफ्ना पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्छन् । खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राई बताउँछन् ।
पछिल्ला दिनहरुमा पुख्र्यौली थलोमा मात्र होइन यो समुदायका मानिसहरु जहाँ जहाँ छन् त्यहीँ सामूहिक रुपमा पर्व मनाउन थालेका छन् ।
यसरी नेवारी समुदायले कलात्मक रुपमा योमरी बनाउने र पुजाआज गर्ने परम्परालाई निरन्तरता दिदैँ आएका छन् भने किरात समुदायले पनि जाडोमा तल झर्ने गर्मीमा लेक चढ्ने भएका कारण पनि यो पर्वको नाम उधौली रहेको बताइन्छ । यस दिन उपत्यकामा ज्यापु दिवस पनि मनाइन्छ ।


प्रतिक्रिया