देश

५ प्रतिशतले नाघ्यो मूल्यवृद्धि, काठमाडौँ उपत्यकामा मात्रै ६.१४ प्रतिशत बढी


काठमाडौँ – अघिल्लो वर्षको कात्तिक महिनामा ४.०५ प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि दर यस वर्ष भने ५ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको कात्तिक महिनामा मूल्यवृद्धि दर बढेर ५.३२ प्रतिशत रहेको छ ।

२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेलमा २९.११ प्रतिशत, यातायातमा १२.३६ प्रतिशत, माछा तथा मासुमा १०.९१ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थमा १०.७० प्रतिशत, सुर्तीजन्य वस्तुमा १०.३० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहमा १०.२४ प्रतिशत मूल्यवृद्धि भएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मूल्यवृद्धि भएको छ । २०७७ कात्तिकमा यी क्षेत्रहरुमा उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मूल्यवृद्धि भएको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत छ । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४।२४ प्रतिशत थियो ।