काठमाडौँ – विगत १६ वर्षअघि चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन वीरगञ्ज भन्सार कार्यालयमा अलपत्र परेको पाइएको छ । चीनले अनुदानमा दिएको मेसिन चलाउने प्राविधिक नहुँदा मेसिन दशकौंदेखि अलपत्र परेको हो । उक्त मेसिनबाट विदेशबाट आयात हुने वस्तुलाई सवारी सहित स्क्यान गर्न मिल्छ । जसकारण, एउटा नाम गरेर अर्कै वस्तु ल्याएको वा चोरी पैठारीबारे सजिलै जानकारी पाउन सकिन्छ । फलस्वरुप: भन्सारको चुहावट समेत रोकिन्छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले प्राविधिकको अभावमा मेसिन अलपत्र परेर बसेको बताए । भने, ‘चीन सरकारले अनुदानमा दिएको मेसिन प्राविधिकको अभाव हुँदा चलाउन पाइएको छैन । मेसिन सञ्चालनमा आएको भए आयातरनिर्यात हुने वस्तुको सजिलै स्क्यान गर्न सकिन्थ्यो ।’ चीन सरकारले नेपाललाई अनुदानमा मेसिन दिएपनि प्राविधिक ज्ञान नदिँदा समस्या भएको हो ।
यद्यपि, सरकारले केही वर्ष अगाडि मेसिन चलाउन प्राविधिक ज्ञान दिन दुईजना कर्मचारीलाई चीन पठाएको थियो । कर्मचारीले मेसिन सञ्चालनबारे ज्ञान हासिल गरेर फर्कने वित्तिक्कै एकजना कर्मचारी रिटायर भएका थिए । यस्तै, अर्का कर्मचारीको सरुवा भएपछि प्राविधिकको अभाव छ ।
‘यस्तै, नयाँ स्क्यानरको मूल्य लाखौं डलर पर्छ । नयाँ किन्नलाई एउटै स्क्यानर मेसिनको मूल्य २५ मिलियन डलरसम्म पर्छ,’ उनले भने, ‘पुरानो सञ्चालनमा ल्याउनै सकिएको छैन । हामी नयाँ किन्नतर्फ लागेका छौं ।’


प्रतिक्रिया