काठमाडौँ – जनकपुरधाममा रहेको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने पर्यटनमन्त्री प्रेमबहादुर आलेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मिथिला संस्कृति समाजले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताउनुभएको हो । यसका लागि पहल भइरहे पनि मूर्तरूप लिन नसकेको उहाँले बताउनु भयो ।
श्रीराम जानकी विवाह महोत्सव २०७८ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, भेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्नु भयो । “रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ”, उहाँले भन्नुभयो । यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ ।
कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेका थिए । यसअघि पनि मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।


प्रतिक्रिया