देश

पशुपतिनाथको कवच, लगायतका ऐतिहासिक सामग्री प्रदर्शन


काठमाडौँ – पशुपतिनाथ मन्दिरको भन्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शंखलगायत पुरातात्विक महत्त्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।

भन्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिन मात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ । अनादिकालदेखिका यी सामग्री बाला चतुर्दशीको भोलिपल्ट अर्थात् औँसीका दिन देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा बत्ती बाल्न आएका काठमाडौं उपत्यका बाहिरका भक्तजन बाला चतुर्दशीका दिन बिहान शतबीज छरेर औँसीका दिन बिहान धार्मिक, पुरातात्विक एवं ऐतिहासिक र सांस्कृतिक महत्त्वका यी सामग्री हेरेर मात्र फर्कने हुँदा त्रयोदशीदेखि औँसीसम्म नै पशुपति क्षेत्रमा भक्तजनको भिड लाग्छ ।

पशुपतिनाथ मूल मन्दिरको पश्चिम मूलढोकाअगाडि राखिएका ती सामग्री सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । दर्शन गराएपछि आजै ती सामग्री भन्डारमा राखिन्छ ।