काठमाडौँ – स्थानीय तहमा जनप्रतिनिधि चयन भएपछि खोटाङको सदरमुकाममा विकासका आधारभूत संरचनाहरुले फड्को मारेको छ । बजार क्षेत्र व्यवस्थीत गर्नेदेखि खानेपानी र स्वास्थ्यमा सुधार देखिएको छ । आजभन्दा चार वर्ष पहिलेसम्म दुर्गम बजारको रुपमा रहेको खोटाङको सदरमुकाम दिक्तेल क्षेत्र अहिले फेरिएको छ । बजार क्षेत्रका गोरेटोहरु व्यवस्थीत सडकको रुपमा विकास भएका छन् भने खानेपानी, स्वास्थ्य, शिक्षा तथा विकासका ससना आधारभूत पक्षहरुमा पनि सुधार देखिएका छन् ।
दिक्तेल बजारको मूल सडक पक्की भएका छन् । ढलान गरिएका, मज्जाले दोहोरो सवारी साधन गुड्न मिल्ने भएकाछन् । करिव चार बर्ष पहिले पुग्दा मोटरसाइकल पनि नगुड्ने बजार भित्रकै गोरेटोहरु फराकिलो सडकमा परिणत भएछन् । बजार क्षेत्रमा सौर्य उर्जा प्रविधिको उपयोग गरि झलमल्ल बनाइएछ । अव्यवस्थीत र भद्रगोल खानेपानी मुहान र पाइप लाइन बल्ल व्यवस्थीत देखिएका छन् । बजार भन्दा झण्डै एक किलोमिटर माथि खानेपानी प्रशोधनको भव्य संरचना बनेछ ।
अब विभिन्न मुहानका पानी यहाँ संकलन हुनेछ, पहिलो, दोस्रो र तेस्रो चरणको प्रसोधन पनि पीउन योग्य पानी नगरबासीको घरघरमा पुग्ने भएको छ । दिक्तेलमा कोभिड अस्पताल पनि निर्माण भएको छ । यस बाहेक ५० शैयाको सुविधा सम्पन्न अस्पताल दिक्तेलमा निर्माण गर्ने कार्य धमाधम चलिरहेको छ । दिक्तेल बजार क्षेत्रमै चिल्ड्रेन फन पार्क बन्दै छ । आधुनिक शहरको महशुस दिलाउने, नगरबासीलाई किनमेलका लागि सहज तुल्याउने गरी सपिङ कम्प्लेक्सको अवधारणा पनि यसैमा गाभीएको छ ।
झण्डै ३३ वडा सटरसहितको भवन बन्ने नगरपालिकाले जनाएको छ । यसरी चलाइएको भवनबाट भाडाको रुपमा मासिक कमाइ हुने लाखौँ रुपैयाँ नगरपालिकाको आयश्रोतको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ । बजारबाट देविस्थान र मझुवागढी उक्लीने बाटो अहिले आकर्षक सीँडीले खुब गज्जबको देखिने भएको छ । आधुनिक पक्की भवनहरुले दिक्तेलका पुराना ढुंगामाटोले बनेका घरहरुलाई विस्थापन गर्दै आधुनिक शहरीकरण तर्फ उन्मुख भएको पाइएको छ ।
बजार बाहेक यस नगरपालिकाले हरेक वडामा सडकको पहुँच पुर्याउने, स्तरोन्नतीको प्याकेजलाई स्थानीय सरकारले विषेश जोड दिएको देखिन्छ । ठाउँ ठाउँमा विश्रामस्थल, सार्वजनिक शौचालय, सार्वजनिक धारा भित्री गोरेटोहरुमा पनि घरघरमा दुई पाङग्रे सवारी पुग्ने गरि भएपनि ढलान बाटोको सुविधा जोडिएको छ । विकासका आधरभूत संरचनाहरु निर्माण भएपनि यसलाई थप व्यवस्थीत गर्ने र दिगोपन दिलाई नगरबासीको जीवनशैलीलाई सहज तुल्याउन थप गम्भीर बन्न जरुरी छ ।


प्रतिक्रिया