विदेश

चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति


काठमाडौँ – चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप–२६ जलवायु सम्मेलनमा एउटा आश्चर्यजनक घोषणा गर्दै आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् । विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा दुर्लभ संयुक्त वक्तव्य जारी गरेको बिबिसीले जनाएको छ ।

सो वक्तव्यले पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण गरेको जनाएको छ । उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका उल्लेख्य खाडलहरू पुर्ने प्रयासहरू बढाउने बताएका छन् । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ’चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताए । अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच असहमतिका अभाव नभएको तर जलवायुमा सहकार्य एकमात्र बाटो भएको बताए ।