राजनीति

भीम रावलले किन दिए कार्यदलबाट राजीनामा ? जस्ताको तस्तै

योहो संवाददाता

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट दिएको राजीनामापत्र सार्वजनिक भएको छ । रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन् । भीम राउलको राजीनामा पत्र जस्ताको तस्तै :

नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका सार्थ कार्यान्वय गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारी भएको थियो । त्यसको कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधानमा भूमिका खेल्न कार्यदल गठन भएको थियो । कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो । नेकपा (एमाले) को सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने नेकपा (एमाले) को कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ । पार्टी केन्द्रीय कार्यालयमा कार्तिक १० गते बुझाएको  राजीनामा  यस प्रकार छ :

मिति २०७८.७.१०

कमरेड केपी शर्मा ओली
अध्यक्ष, केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
केन्द्रीय कार्यालय
थापाथली, काठमाण्डौ । 
विषयः राजीनामा

२०७८ साल कार्तिक ५ गते तुलसिलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानि)–१२ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा मैले सहमतिका लागि गरिएका प्रयत्नहरु तथा १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखितरुपमा जानकारी गराएको थिएँ । तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नुहुने स्थायी कमिटीका सबै नेताहरुले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो । तर उक्त विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरुको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नै नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकाले त्यसप्रति मैले विमति जनाएको थिएँ । साथै पार्टीले विभाजनको विषम स्थितिको सामना गरिरहेकोले सहमति र निर्णयको सम्मान गर्दै पार्टीलाई एकताबद्ध तुल्याउनुपर्नेमा जोड दिएर आफ्नो फरक मत बैठकमा दर्ज गरेको थिएँ ।

दस बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुश गरी मैले तत्काल स्थायी कमिटीको बैठकमा नै मौखिकरुपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेश गर्ने जानकारी गराएको थिएँ । सोही अनुरुप निम्नलिखित कारणसहित यो राजीनामा पेश गरेको छु :

१) नेपाल कम्युनिष्ट पार्टीमा विगतका विभाजन र फुटका श्रृंखलाको अन्त्य गर्दै त्यसको पुनरावृत्ति नहुने उद्‍घोषका साथ २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) का बीच भएको एकीकरण षडयन्त्रको भुमरीमा परेर २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट  भंग भएको थियो । पार्टी एकीकरण कायम राख्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा सम्पर्क गर्न अदालतको फैसलामा भनिए अनुसार के कसो गर्ने भन्नेबारे पार्टीको बैठक नै भएन । विगतका विभाजन र फुटका श्रृखंला पुनः दोहोरिन नदिने बाचा समेत भंग भयो ।

नेकपा (एमाले) पुनःजीवित भएपछि कसरी अगाडि जाने भनी विधिवत् केन्द्रीय कमिटीको बैठक गरी छलफल गरिएको भए के हुन्थ्यो भन्ने कुराको अहिले कल्पना मात्र गर्न सकिन्छ । त्यसो नभई २०७७ साल फागुन २८ गते म लगायत केन्द्रीय कमिटीका सदस्यहरुको ठूलो संख्यालाई कुनै जानकारी नदिई बालुवाटारमा केन्द्रीय कमिटीको बैठक आयोजना भएको र त्यस बैठकबाट नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको, पार्टी विधान संशोधन भएकोे र महासचिवबाहेक अरु पदाधिकारीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको कुरा बाहिर आयो । ती सबै कार्यहरु पार्टी विधान र नियमावलीसम्मत नभएकाले पुनःजीवित पार्टीमा नौलो किसिमको अन्तरविरोध  उत्पन्न भएको अकाट्य सत्य होे । यसको समाधानका लागि चैत्र २ गते धुम्बाराहीमा भएको वार्ता असफल भएपछि पार्टीमा दुई पक्ष हुने दुःखद् अवस्था सिर्जना भयो । 

२) उपर्युक्त स्थितिमा पार्टीमा अन्तरविरोध र संघर्ष चल्नथाल्यो । यस्तो अवस्थाको अन्त्यको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालका बीच अनेकौं पटक वार्ता भए । अन्ततः २०७८ साल जेठ १ गते दुईजना नेताहरुका बीच भएको वार्ता र सहमति तथा जेठ