देश

पत्रकार भूपाल लुइँटेल सम्मानित, नयाँ प्रविधिलाई व्यवस्थित गर्न सरकारलाई सुझाव

योहो संवाददाता

काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताए । पत्रकारिता क्षेत्रबाटै प्रतिनिधित्व गर्दै कार्यकारी भूमिकामा पुगेकाले सञ्चार क्षेत्रको विकास र विस्तारका विषयमा आफूले निरन्तर चिन्तन गरिरहेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई कानुनी आधार प्रदान गर्ने काम गरिरहेको जानकारी दिए । राज्यले सञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने सरोकारवालाको सुझाव सकारात्मक रहेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रले पनि राज्यलाई खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा प्राध्यापक तथा राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले प्रविधिको तीव्र विकासलाई राज्यले प्रणालीगत रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । आफूलाई ‘युट्युबे विश्लेषक’ भन्ने गरिएको उल्लेख गर्दै उनले ठूला मिडिया हाउससमेत युट्युबमा केन्द्रित हुँदै गएको बताए । युट्युबलाई सञ्चारमाध्यमका रूपमा विकास गर्न राज्यले स्पष्ट प्रणाली र नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

गिद्दे प्रेस एचडीका सम्पादक ठाकुर बेलवासेले पत्रकारिताको परम्परागत माध्यम र शैलीमा परिवर्तन ल्याउने सोचका साथ गिद्दे प्रेस सुरु गरिएको बताए । वार्षिकोत्सवका अवसरमा पत्रकारितामा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्दै पेसाप्रति निरन्तर लागिरहन प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको उनले जानकारी दिए ।

बेलवासेले युट्युबलाई सञ्चारमाध्यमका रूपमा स्वीकार गरी सञ्चालन गर्न आवश्यक नीति बनाउन ढिलाइ भइरहेको भन्दै यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।पुरस्कार ग्रहणपछि पत्रकार लुइँटेलले सम्मानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताए । पत्रकारितामा प्राप्त सम्मानलाई आफ्नो कामप्रतिको दायित्व थपिएको रूपमा लिएको उनको भनाइ थियो ।पत्रकारिता क्षेत्रमा चर्चाको शिखरमा पुगेका र बदनामीको गहिराइमा झरेका दुवैथरी व्यक्तिका अनुभव आफूले नजिकबाट देखेको उल्लेख गर्दै उनले ती दुवै अवस्थाबाट जोगिएर निरन्तर कर्ममा लागिरहने चाहना व्यक्त गरे ।

‘मेरै जीवनकालमा मैले चर्चाको शिखर चुमेका मानिसहरूदेखि लिएर यही क्षेत्रमा लागेर बदनामीको गहिराइसम्म पुगेका मानिसहरूको पनि अनुभूति गरेको छु । म यी दुवै चिजबाट जोगिन चाहन्छु । न त्यो उचाइमा पुग्न चाहन्छु, न बदनामीको गहिराइसम्मै पुग्न चाहन्छु । म जे छु, ठीक अवस्थामा छु,’ उनले भने ।आफूलाई आवश्यकताभन्दा बढी प्रशंसा नगर्न आग्रह गर्दै लुइँटेलले विगतका अनुभवबाट सिकेर आफ्नो काममा निरन्तर लागिरहनुपर्ने धारणा राखे ।

उनले पत्रकारितामा प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता ९एआई० ले थपेका चुनौतीबारे पनि चर्चा गरे । गुटेनबर्गको छापाखानादेखि आधुनिक छपाइ प्रविधि हुँदै मोबाइल पत्रकारितासम्म आइपुग्दा पत्रकारिताको स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्षमा असर पार्न सक्ने बताए ।

एआईको अत्यधिक प्रयोगले पत्रकारको बौद्धिक क्षमता, सिर्जनशीलता र अन्तर्वार्ता गर्ने सीपसमेत कमजोर बनाउँदै विस्थापनको जोखिम बढाउन सक्ने उनको चिन्ता थियो । एआईको प्रयोग र दुरुपयोगबारे समयमै बहस गर्दै यसको उचित प्रयोगका लागि आवश्यक नियमन गर्नुपर्नेमा उनले जोड दिए ।पुरस्कृत पत्रकार लुइँटेल हिमालयन टेलिभिजनमा कार्यक्रम प्रस्तोता तथा रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत छन् ।