काठमाडौं– अमेरिकामा आज मध्यावधि निर्वाचनका लागि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रतर्फ गइरहेका छन् । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) का सम्पूर्ण ४३५ सिट र माथिल्लो सदन ‘सिनेट’ का ३५ सिटका लागि मतदान भइरहेको हो । निर्वाचनको दिनभन्दा अगावै ‘अर्ली भोटिङ’ (अग्रिम मतदान) मार्फत मत खसालिसकेका लाखौँ मतदाताहरूको पंक्तिमा आज थप मतदाताहरू सामेल हुँदैछन् । विगतका चुनावी चक्रहरूको तुलनामा यस पटक मतदानको दिनअघि कसको उपस्थिति कस्तो रह्यो भन्ने कुरा अग्रिम मतदानको तथ्यांकले केही संकेत दिएको छ । हाल संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहे पनि यस पटक डेमोक्रेट्सहरूले कडा चुनौती पेस गरेका छन् । चुनावी विश्लेषण संस्था ‘कुक पोलिटिकल रिपोर्ट’का अनुसार, रिपब्लिकन पार्टीले आफ्ना परम्परागत बलिया गढहरू—कन्सास, टेक्सास, ओहायो र आयोवाजस्ता राज्यहरूमा समेत लाखौँ डलर चुनावी विज्ञापनमा खर्चिनु परेको छ, जसले पार्टी रक्षात्मक स्थितिमा पुगेको संकेत गर्छ । सिनेटको नियन्त्रण हत्याउन डेमोक्रेट्सलाई कम्तीमा ४ सिटको अतिरिक्त जित आवश्यक छ । विशेषगरी मिसिगन, टेक्सास, ओहायो, आयोवा, मेन, अलास्का र नर्थ क्यारोलाइनाका सिनेट प्रतिस्पर्धालाई निर्णायक मानिएको छ । सीएनएनको ‘पोल अफ पोल्स’ का अनुसार, डेमोक्रेटिक पार्टी कंग्रेसको सामान्य चुनावी सर्वेक्षणमा ९ अंकको अग्रताका साथ निर्वाचनमा होमिएको छ । निर्वाचन विश्लेषकहरूले पनि कडा प्रतिस्पर्धा रहेका सिटहरू डेमोक्रेटकै पक्षमा जान सक्ने प्रक्षेपण गरिरहेका छन् ।
Breaking


प्रतिक्रिया