Breaking

बालेनको साम्राज्यमा गगनको काउन्टर, सरकार ढाल्न जुर्मुरायो प्रतिपक्ष, इनम प्रकरणले ल्याउँदै उथलपुथल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार र रास्वपाप्रतिको जनमतको जरा कमजोर बन्दै गएको तथा सरकारका कामभन्दा धेरै विवादित गतिविधि बढ्न थालेको निष्कर्षसहित अहिले कांग्रेस सभापति गगन थापा सशक्त रूपमा प्रस्तुत हुन थालेका छन् । सरकारका पछिल्ला गतिविधिले कांग्रेसलाई आन्दोलन र प्रतिवादको गतिलो खुराक दिएको छ । पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि सभापति थापाले राजनीतिक सक्रियतालाई ह्वात्तै बढाएका छन् । नेपाली कांग्रेसले अहिले न्यायालय प्रकरणदेखि पत्रकार पक्राउसम्मका मुद्दालाई प्रमुखताका साथ उठाएको छ । सभापति थापाले आइतबार पार्टी मुख्यालयमा विशेष सम्बोधन गर्दै सरकारमाथि ठाडो प्रहार गरे । त्यसलगत्तै सोमबार संसदीय दलको बैठक बसेर थप रणनीति तय गरिएको छ । कांग्रेसले अहिले मुख्यतः बिचौलिया इनम सापकोटा प्रकरण, पत्रकारमाथिको धरपकड र न्यायालयको स्वतन्त्रता लगायतका विषय जोडतोडले उठाइरहेको छ । संसदीय दलको बैठकपछि कांग्रेसले इनम प्रकरणमा संसदीय छानबिन समिति र पत्रकार पक्राउको विषयमा संसदीय विशेष समिति गठनको माग गरेको छ । मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न सरकारले सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला चलाएको कांग्रेसको बुझाइ छ ।