नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत भूगोलतर्फ लुम्बिनी प्रदेश (खुला) बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हिराबहादुर खत्रीले देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत दिएर आफूलाई जिताउन अपिल गरेका छन्। उनले क्रम संख्या ‘९’ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता रहेको जनाउँदै महाधिवेशन प्रतिनिधिहरूलाई अमूल्य मत दिन अपिल गरेका हुन्।
पार्टीलाई नयाँ पुस्ता (जेन–जी) को आन्दोलन, मर्म र भावनाअनुसार पुनर्गठन गर्नुपर्ने तथा नेतृत्व तहमा पुस्तान्तरण हुनुपर्ने पक्षमा उनी उभिएका छन्। यसका लागि पार्टीका नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायतले अघि सारेको रूपान्तरणको एजेन्डालाई खत्रीले साथ दिएका छन्।
रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वाधिक मतका साथ १५औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित खत्री देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । उनी वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा देवदहको मेयर निर्वाचित भएका थिए। त्यसपछि २०७९ को निर्वाचनमा पुनः मेयर पदको प्रत्याशी बनेका खत्रीले २०८२ सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।
१६ वर्षको उमेरदेखि आन्दोलनमा
वि.सं. २०३२ मा रुपन्देहीको देवदहस्थित एक किसान परिवारमा जन्मिएका खत्री कृषि पेशा र स्थानीय उद्यमशीलतासँग जोडिँदै राजनीतिमा प्रवेश गरेका थिए। २०४६ सालको ऐतिहासिक जनआन्दोलनका क्रममा चैत २६ गते बुटवलमा भएको गोलीकाण्डका उनी प्रत्यक्षदर्शी थिए। १६ वर्षको उमेरमै लोकतान्त्रिक आन्दोलनमा होमिएका उनलाई आन्दोलन सफल भएपछिको विजय जुलुसमा देवदहका तत्कालीन कांग्रेस नेता गुरुप्रसाद पराजुलीले चारतारे झण्डा र रुख अंकित पहिरन लगाइदिएका थिए। त्यसयता उनी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।
नेपाल तरुण दल रुपन्देहीको पहिलो अधिवेशनबाट गाउँ समितिको अध्यक्ष बन्दै खत्रीले सांगठनिक यात्रा सुरु गरेका थिए। दोस्रो अधिवेशनबाट तरुण दलको क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य तथा तरुण दलकै महाधिवेशन प्रतिनिधिको जिम्मेवारी उनले सम्हाले।
पार्टीको १२औँ महाधिवेशनमा रुपन्देही–१ बाट जिल्ला सदस्य निर्वाचित भएपछि उनी जिल्ला सचिवमा मनोनीत भएका थिए। त्यसपछि पार्टीको १३औँ र १४औँ महाधिवेशनमा लगातार रुपन्देही–१ को क्षेत्रीय सभापतिमा निर्वाचित भएर संगठनको नेतृत्व गरे।
तरुण दलमा रहँदा निर्वाचनहरूमा युवा परिचालन, पार्टी राजनीतिमा संगठन विस्तार तथा स्थानीय तहमा विकास निर्माणका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका खत्रीले ‘संस्कारसहितको राजनीति’ लाई आफ्नो मूल निष्ठा बताउँदै केन्द्रीय सदस्य पदमा विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसमक्ष अनुरोध गरेका छन्।


प्रतिक्रिया