Breaking

कांग्रेस महाधिवेशन : पुरुषलाई टक्कर दिँदै महिला उम्मेदवार, पार्टी हाँक्ने अवसर, कुन पदमा कति ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको अघिल्ला महाधिवेशनहरुमा महिला सहभागिता मुख्यतः संवैधानिक तथा पार्टी विधानले तोकेको समावेशी कोटामा मात्रै केन्द्रित हुने गरेको थियो । तर पार्टीको १५औँ महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र महिलाको सहभागितालाई संख्या र पहुँच दुवै हिसाबले विस्तार गरिएको छ । यसपटक प्रतिनिधिदेखि केन्द्रीय नेतृत्वका महत्वपूर्ण पदसम्म महिलाका लागि थप सुनिश्चितता गरिएको हो । पदाधिकारीका प्रमुख पदमा महिला अनिवार्य गरिएको छ भने केन्द्रीय कार्यसमितिमा पनि विभिन्न कोटामार्फत महिलाका लागि निश्चित संख्या छुट्याइएको छ । महाधिवेशन प्रतिनिधिमा समेत प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा पाँच महिला निर्वाचित हुने व्यवस्था गरिएको छ । महाधिवेशनबाट पारित संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुनेछ । पार्टीको १५औँ महाधिवेशनसम्म आइपुग्दा संरचनामा ठुलो परिवर्तन गरिएको छ । जहाँ पदाधिकारीतर्फ एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन् । चार उपसभापतिमध्ये कम्तीमा एक महिला अनिवार्य गरिएको छ । त्यस्तै, तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था छ । ६ सहमहामन्त्रीबाट बढाएर १५ जना पु¥याइएकोमा विभिन्न क्लस्टरमध्ये एक महिला अनिवार्य गरिएको छ ।