देश

अमेरिका र चीनसँग हिसाब खोज्न रास्वपा सांसदकै दबाब, चुप नबस्ने मनिषको संकेत, विपक्षीले मागे समिति (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भोटेकोशीमा विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि सयौँ नागरिक अझै बेपत्ता रहँदा र उद्धारको काम प्रभावकारी नहुँदा संसद् तातेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै बेपत्ताहरूको खोजी, उद्धार र पीडित परिवारको जवाफदेहिता सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् । उनीहरूले जलविद्युत परियोजनाहरूमा कार्यरत टनेलमा फसेका नागरिकहरूको खोजीलाई तत्काल तीव्र पार्न, महामारी रोक्न स्वास्थ्य शिविर सञ्चालन गर्न तथा प्रभावितलाई मनोसामाजिक परामर्श दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालमा आएको यो विनाशकारी बाढीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले दिनुपर्ने माग गरे । यो विपद् आउनुमा विकसित राष्ट्रहरूको कार्बन उत्सर्जन मुख्य जिम्मेवार रहेको उनको भनाइ छ । सदनमा बोल्ने क्रममा अंग्रेजी भाषासमेत प्रयोग गर्दै झाले नेपालले अब राहत होइन, क्षतिपूर्ति माग्ने बेला आएको बताए । नेपालको कार्बन उत्सर्जन एक प्रतिशतभन्दा कम रहेको तथ्याङ्क पेस गर्दै उनले अमेरिका, चीन र भारतजस्ता देशहरूलाई यसको जिम्मेवार ठह¥याए । साथै, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उपस्थित भएर यस विषयमा कडा रूपमा आवाज उठाउनसमेत आग्रह गरे ।