देश

VVIP ले भरिँदा पनि कारागार उस्तै, पूर्वगृहमन्त्री पुग्दा समेत सुध्रिएन, लेखकलाई मात्रै गाली गर्नु व्यर्थ (भिडियोसहित)


काठमाडौं— जब कुनै व्यक्तिले अपराध गर्छ र त्यो अदालतबाट प्रमाणित भई कैद सजाय तोकिन्छ, तब सम्बन्धित व्यक्तिलाई कारागार चलान गरिन्छ । सीमित ठाउँ र स्रोतसाधन भएको कारागारभित्र जीवन निर्वाह गर्नु आफैँमा एक प्रकारको सजाय हो । अपराधीहरूले अपराधअनुसार सजाय पाउँछन् र तोकिएको समयावधि पूरा गरेपछि बाहिर निस्कन्छन् । कारागार चलान भएका कैदीबन्दीलाई विभिन्न सीपमूलक तथा स्वरोजगार तालिम दिने गरिन्छ । सकारात्मक सोच अभिवृद्धि गर्न ज्ञानगुनका विषयदेखि योग, ध्यानमा समेत उनीहरूलाई व्यस्त राख्ने प्रयास हुन्छ । यसो गर्दा कैदीबन्दीमा नयाँ सोचको विकास भई समाजमा पुनस्र्थापित हुन सहज हुने मान्यता छ । त्यसैले कारागारलाई ‘सुधारगृह’ का रूपमा व्याख्या गर्ने गरिन्छ । यसलाई व्यवहारमा उतार्न नेपालले पनि धेरथोर प्रयास गरिरहेको छ । कारागारमा कैदीबन्दीलाई फर्निचर बनाउने, कपडा सिलाउने, पर्स–ब्याग बनाउने, कपडा बुन्ने, गुडिया–खेलौना बनाउने, कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो–डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरक–डसना बनाउनेजस्ता काममार्फत आयआर्जनमा जोडिएको थुप्रै उदाहरण छन् । करिब ७ हजार बन्दीलाई उत्पादनमूलक काममा लगाइएको सरकारी तथ्याङ्क छ । तर, पछिल्ला केही दिनयताका घटनाले कारागारको दयनीय अवस्थालाई सतहमा ल्याएको छ ।