Breaking

देशभर बढ्यो आगलागी, सिंहदरबारमै निभाउन सकस, एक महिनामै १० को मृत्यु (भिडियो)


काठमाडौ । शनिबार बिदाका दिन एकाबिहानै मुलुकको प्रशासनिक अड्डा सिंहदरबार भित्र दनदन्ती आगो लागेको घटना छिनभरमै आगो सरिनै फैलियो । हल्लाखाल्लाकै बीचमा बिहान पौने ९ बजेको यो घटना, खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगो लागेको पुष्टि भयो ।

आगलागी बाट,खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवको कार्यकक्षसहित चौथो तल्लाको तीनबटा कोठामा क्षति पुगेको छ ।
मन्त्री यादवको कार्यकक्षमा आगलागी हुँदा दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट, पर्दा लगायतका सामान जलेर नष्ट भएको छ । सिंहदरबार भित्रै मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिन २० मिनेट लागेको थियो । यद्यपी मन्त्री यादवले आवश्यक कुनै पनि कागजात जल्न नपाएको र ५० लाख हाराहारीमा क्षति भएको बताएकाछन् ।

सिंहदरबार भित्रै एकाएक आगो लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रुपमा विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि यसको स्वतन्त्र पुष्टि भएको छैन । मन्त्री यादवले घटनापछि प्रतिक्रिया दिने क्रममा शुक्रबारनै आफ्नो कार्यकक्षमा केही डढेको जस्तो गन्ध आएको र सहयोगीलाई जानकारी गराउँदा पानी तताउने मेसिन होला भनेर सामान्य रुपमा लिदा घटना घटेको बताएकाछन् ।

खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि रहेको छ । तर भौतिक मन्त्रालयमा भने क्षति भएको छैन । आगलागी पछि खानेपानी मन्त्रालयमा पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताएका छन् । ठूलो क्षति हुनबाट जोगिएको बताएका मन्त्री खड्काले पूरै भवनमा नै विद्युत् वायरिङको जाँच गर्न निर्देशन दिएकाछन् ।

पाछिल्ला दिनहरूमा क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा नभएका कारण मुलुकभर आगलागीका घटना बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै विद्युत् सर्टले पनि आगलागीको जोखिम थप बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माघ महिनाको २५ गतेसम्म मात्रै देशभरका विभिन्न ३३८ स्थानमा आगलागी हुँदा १० जनाले ज्यान गुमाएका छन् भने ८० जना घाइते भएका छन् । अझ यसमा डढेलोको तथ्याङ्क समाबेस छैन ।

(बाँकि भिडियोसहित)