समाचार

ह्वाइटहाउस छिर्नु अघि ट्रम्पमाथि दबाब, चीनदेखि मध्यपूर्वी राष्ट्रकै चेतावनी

योहो संवाददाता

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा एक विशेष समारोहका बीच शपथ लिएसँगै ह्वाइट हाउसमा पुनरागमन गर्दैछन् । लामो समयपछि राष्ट्रपति बनेर पुनः ह्वाइट हाउसमा फर्किने तयारीमा रहेका ट्रम्प बिदा हुन लागेका वर्तमान राष्ट्रपति जो बाइडेनको निर्णयले हैरानीमा पर्ने देखिन्छन् ।

विश्व शक्ति राष्ट्र अमेरिकाको ह्वाइट हाउसमा अबको करिब डेढ महिनापछि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन हुँदै छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजय गर्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा फर्किन लागेका हुन् । सन् २०१६ मा निर्वाचित ट्रम्प २०२० को निर्वाचनमा पराजित भएका थिए । अघिल्लो कार्यकाल उनका लागि केही सहज भए पनि यो कार्यकाल चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

नम्बर १. ट्रम्पको कार्यकाल हैरानीको संघारमा

राष्ट्रपति चुनावको दौडका क्रममा ट्रम्पले रुस युक्रेन युद्धलाई रोक्ने बाचा गरेका थिए । बाचा त गरे तर युद्धविराम भन्दा पनि झनै युद्ध चर्किने बाटोतर्फ अग्रसर भएको छ । युद्ध झनै चर्किनुमा अमेरिकी राष्ट्रपति जो बाइडेनको गलत निर्णयलाई मान्न सकिन्छ । बाइडेन प्रसाशनले केही दिनअघि मात्रै युक्रेनलाई लामो दूरीको हतियार प्रयोग गर्न अनुमति दिएको थियो । सो निर्णयपछि रुष्ट बनेको रुसले युक्रेनविरुद्धको लडाईंमा नयाँ हतियार प्रयोग गर्दै चेतावनीपूर्ण जवाफ फर्काएको छ । यतिमात्रै नभई रुसले उत्तर कोरियामा निमार्ण भएका हतियारहरु समेत प्रयोग गर्न थालेपछि युद्धले नयाँ मोड लिएको छ । यो युद्ध कहिले अन्त्य हुन्छ, झनै अनिश्चित बन्दै गएको छ ।

नम्बर २. पद सम्हाल्नुअघि नै ट्रम्पलाई अरब राष्ट्रले दिएको कठोर सन्देश

कट्टर दुस्मन साउदी अरब र यूएईले इरानसँग तनाव कम गर्ने र सम्बन्ध सुधार गर्ने संकेत दिएका छन् । अमेरिकामा ट्रम्प प्रशासनको विदेशमन्त्री बन्न लागेका मार्को रुबियो इरानका कट्टरविरोधी हुन् । उनले इरानलाई आतंकवादीको शासन भएको देश भन्दै चर्को आलोचना गर्दै आएका छन् । उनी चीनलाई पनि अमेरिकाको सबैभन्दा ठूलो विरोधी ठान्छन् ।
इजरायलको पक्षमा बलियो रूपमा उभिएका ट्रम्प राष्ट्रपति बनेसँगै ५० मुस्लिम देशका नेताहरू साउदीमा भेला भएका छन् । जहाँबाट साउदीका राजकुमार सलमानले इरानमाथि हमला नगर्न इजरायललाई चेतावनी नै दिए । लेबनानको हिज्बुल्लाह र गाजामा हमासमाथिको हमला तथा शृङ्खलाबद्ध रूपमा नेतृत्वको हत्याले इजरायल र इरानबीच तनाव चुलिएको छ । दुवै एकअर्काविरुद्ध मिसाइल हमलामा उत्रिएका छन् । अब यो क्षेत्रलाई लिएर अमेरिकी नीति के हुन्छ भन्ने चासो सर्वत्र छ । राष्ट्रपति बनेसँगै ट्रम्पले मुस्लिम समुदायलाई अमेरिका वा इरानमध्ये एक रोज्न दबाब दिए भने के हुन्छ ? यो सबैभन्दा जटिल प्रश्न बन्ने देखिन्छ ।

नम्बर ३. छिमेकी देश मेक्सिकोसंग खटपट

ट्रम्पले बारम्बार अमेरिकी सीमामा अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसंग सम्झौता गर्ने बताउँदै आएका छन् । पछिल्लो पटक मेक्सिकोसंग बार्ता भएको ट्रम्पले बताउँदै आएका थिए । तर मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले उनको यो दाबीबारे प्रतिक्रिया दिएकी छन् । शेइनबमले पनि मेक्सिको सीमा बन्द गर्ने स्थितिमा नभएको अभिव्यक्ति दोहो¥याउँदै मानव अधिकारलाई सम्मान गर्दै आप्रवासनको समस्यालाई सम्बोधन गर्ने बताएकी छन् । ट्रम्पले सीमाबाट अवैध आप्रवासी आउने क्रम नरोकिए आगामी जनवरीमा पदभार सम्हालेपछि मेक्सिको र चीनबाट आउने सामानमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने धम्की नै दिइसकेका छन् ।

नम्बर ४. चीनसंगको सम्बन्धमा फेरि तिक्तता

त्यसो त चीन र अमेरिकाको सम्बन्ध त्यति राम्रो बन्न सकेको छैन । पहिलो कार्यकालमासमेत ट्रम्पको सम्बन्ध चीनसँग सहज हुन सकेको थिएन । यस पटक पनि चुनावी अभियानदेखि नै चीनबाट आउने हरेक सामानमा ६० प्रतिशतसम्म कर लाउने बताउँदै आएका छन् । यसमा चीनले असन्तुष्टि जनाउन थालिसकेको छ भने अमेरिका र चीनबीच फेरि व्यापार युद्ध चर्किने सम्भावना बढेर गएको छ । चीनले यसको परिणाम राम्रो नहुने बताउँदै कसैले पनि व्यापार युद्ध जित्न नसक्ने प्रतिक्रिया जनाइसकेको छ । तसर्थ, ट्रम्पको यो दोस्रो कार्यकाल हैरानी र समस्याग्रस्त बन्ने विश्लेषण हुन थालिसकेको छ । तर पनि उनले कार्यभार सम्हाल्न अझै केही समय रहेकाले उनी ह्वाइट हाउस प्रवेश गरेपछि अमेरिकी र विदेश नीति कस्तो बन्छ ? त्यसले ट्रम्पलाई कुन रुपमा अगाडि बढाउने छ ? त्यो भने सबैको चासोको केन्द्रमा रहेको देखिन्छ ।