Breaking

दुई उपसभापतिलाई रविको निर्देशन : मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्

योहो संवाददाता

काठमाडौँ— सहकारी ठगीको आरोपमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

आज भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ ।

उपसभापति अर्यालले राजनीतिक प्रतिशोध हो कि होइन भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आग्रह गरेको बताए । ‘हामीले गरिरहेको आन्दोलन राजनीतिक प्रतिशोधविरुद्ध भएको कुरा सर्वसाधारण नागरिकले बुझिराख्नुभएको छ कि छैन, स्पष्टसँग बुझाइदिनुहोला । आन्दोलन कस्तो प्रकृतिको गर्नेबारे सचिवालय र केन्द्रीय समितिले निर्णय लिन भन्नुभएको छ’, अर्यालले भने ।

अर्का उपसभापति वाग्लेले सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए । उनले सञ्चारकर्मीहरुसँग भने, ‘राजनीतिक प्रतिशोधले अनावश्यक हिरासतमा राखिएको हो । हामीलाई विधिको शासनमा अटल विश्वास छ ।’

हिरासतबाहिर राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट गर्ने, भागेर जाने अवस्था नभएको उनले बताए । सरकारले कानुनी छिद्रको दुरुपयोग गरिरहेको वाग्लेको टिप्पणी थियो । लामिछानेलाई भेटेर फर्किएपछि प्रतिक्रिया दिने क्रममा दुई उपसभापतिले आगामी विरोधका कार्यक्रम बुधबार सार्वजनिक गर्ने बताए ।