समाचार

ताइवान कब्जा गर्ने चीन नीति, यसरी भयो सैन्य अभ्यास, तत्काल हटाउन ताइवानी प्रधानमन्त्रीको चेतावनी

योहो संवाददाता

काठमाडौँ— ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासविरुद्ध ताइवानले कडा प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपति विलियम लाइको कार्यालयले विज्ञप्ति जारी गर्दै चिनियाँ सैन्य अभ्यासको कडा शब्दमा विरोध गरेको हो ।
चीनले ‘युद्ध अभ्यास’ भन्दै ताइवानलाई घेरेपछि पूर्वी एसियामा मात्र नभई विश्व भूराजनीतिमा तरंग सिर्जना भएको छ । चीनको जनमुक्ति सेनाले युद्ध अभ्यास भन्दै ताइवान वरिपरि सैन्य शक्ति परिचालन गरेपछि थप तनाव सिर्जना हुने अवस्था बनेको छ ।

ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासविरुद्ध ताइवानले कडा शब्दमा प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपति विलियम लाइको कार्यालयले विज्ञप्ति जारी गरी चिनियाँ सैन्य अभ्यासको विरोध गरेको छ । लाइको कार्यालयले भनेको छ–‘चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान गर्नुपर्छ र आफ्नो सैन्य आक्रमण रोक्नुपर्छ ।’ साथै विज्ञिप्तिमा ताइवानको सिमानाका दुवै छेउमा शान्ति र स्थायित्व कायम राख्नु साझा जिम्मेवारी भएको पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ– ‘हाम्रो सरकार हाम्रो संवैधानिक प्रणालीको लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न प्रयासरत रहनेछ । हामी हाम्रो राष्ट्रिय सुरक्षा कायम गर्नमा विश्वस्त र सक्षम छौँ ।’

यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनको कार्यालयले ताइवान घेर्ने गरी चीनले गरिरहेको सैन्य अभ्यासको निगरानी गरिरहेको बताएको छ । बेइजिङले सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबन्द, सैन्य सवारीसाधन र मिसाइल लन्चरको शक्ति प्रदर्शन गरेको छ । रुस–युक्रेन युद्ध र मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनावबीच चीन ताइवान मामिला सतहमा आएपछि तेस्रो विश्व युद्धतर्फ विश्व लम्किएको टिप्पणी विश्व भूराजनीतिका पण्डितहरूले गर्न थालेका छन् । पछिल्लो समय चीनले अर्थतन्त्र र सैन्य शक्तिमा निकै ठूलो फड्को मारेको छ । महाशक्ति राष्ट्र अमेरिकालाई पनि चीनले चुनौती दिइरहेको छ । ताइवान पनि अर्थतन्त्रमा निकै मजबुत बन्दै गएको छ । ऊसँग शक्तिशाली सेना छ । जसले चीनजस्तो शक्तिशाली सेनालाई पनि तर्साउँदै आएको छ । त्यही त्रासले नै अहिलेसम्म चीनले सिधै ताइवानमाथि आक्रमण गर्न नसकेको मान्ने गरिन्छ ।
यस्तै ताइवानको अर्को मजबुत पक्ष प्रविधि उत्पादन हो । उसले उत्पादन गर्ने केही आईटी प्रविधिमा अहिले चीनदेखि अमेरिकालगायत पश्चिमा देशहरू निर्भर छन् । त्यति मात्रै नभई अमेरिका ताइवानको पक्षमा उभिँदै आएको छ । त्यहाँको अर्थतन्त्र निर्माण र विकासमा सहायता प्रदान गर्दै आएको छ । यस्तै उसले ताइपेईमा आफ्नो दूतावास पनि राखेको छ । उसले ताइवानको रक्षाका लागि हतियार तथा बन्दोबस्तीका सामग्रीसमेत प्रदान गर्दै आएको छ ।

त्यसो त चिनियाँ राष्ट्रपति सी जिनपिङले त सन् २०२३ भित्र ताइवान चीनमा मिलाउने घोषणा गरेका थिए । त्यसका लागि राष्ट्रपति सी ताइवानमा आफूनिकट व्यक्ति प्रधानमन्त्री निर्वाचित भएको हेर्न चाहन्थे । तर आफूलाई स्वतन्त्र र लोकतान्त्रिक देशको नागरिक चाहने ताइवानबासीले चीन विरोधी लाइलाई प्रधानमन्त्रीमा निर्वाचित गरे । अधिकांश ताइवानबासी चीनबाट अलग्गिएको घोषणा पनि गर्न नहुने र चीनसँग मिल्न पनि नहुने धारणा राख्छन् । यस्तो अवस्थामा सहज ढंगबाट ताइवान कब्जा गर्न नसकिने देखेपछि चीन सैन्य कारबाहीतर्फ अघि बढेको सन्देश विश्वभर गएको छ । ताइवानको समर्थनमा आउनसक्ने अमेरिका अहिले युक्रेन–रुस र इजरायल तथा अन्य अरेबियन मुलुकसँगको समस्यामा अल्झिएका बेला चीनले ताइवानमाथि हमला गर्न सक्ने आकलन भइरहेको छ । चीन र ताइवानबीच लामो समयदेखि रहँदै आएको विवाद अझै सुल्झिन सकेको छैन ।

चीनले ताइवानले आफ्नो भूमि मान्नु र ताइवानले त्यसलाई अस्वीकार गर्नु नै यी दुईबीचको मुख्य विवाद हो । ताइवानले आफ्नो स्वतन्त्रता र सम्प्रभूतामाथि हस्तक्षेप नगर्न चीनलाई पटक पटक आग्रह गरेपनि चीन त्यो स्वीकार गर्न चाहिँ रहेको छैन । जसले गर्दा एउटा कालखण्डमा दुई शक्तिबीच भीषण संघर्षको अवस्था आउने लामो समयदेखि विश्लेषण हुँदै आएको छ । यसबीचमा पछिल्लो समय चीनले प्रदर्शन गरेको शैन्य शक्ति र अभ्यासले दुई मुलुकबीचको तनाव कुन हदसम्म जान्छ भन्ने अहिले नै यकिन हुन सकेको छैन । यद्यपि, तत्कालको अवस्थामा चीनले ताइवानलाई तर्साउन र दबाब कायम गर्न मात्रै यो किसिमका कदम चालेको हुन सक्ने आकलन गरिएको छ । चीनको गतिविधिबाट ताइवानले कतिसम्म सहनशीलता कायम गर्छ वा उत्तेजित हुन्छ ? त्यो हेर्न भने बाँकी नै छ ।