समाचार

कालिकोट शुभकालिकाका विपन्न परिवारलाई सोलार वितरण

योहो संवाददाता

काठमाडौं – कालिकोट शुभकालिका गाउँपालिकाले विपन्न, जनजाती तथा दलित परिवारलाई सोलार सेट वितरण गरेको छ।

गाउँपालिकाको वडा नं १ को छाती बस्तिमा रहेका विपन्न जनजाती तथा दलित परिवारलाई सोलार सेट वितरण गरिएको हो। विद्युत नपुगेर अँध्यारोमा बस्न बाध्य नागरिकलाई स्थानीय सरकारले सोलार वितरण गर्दा खुशी लागेको वडा नं १ का सदस्य धिरबहादुर बिष्टले बताए।

यस्तै, वडा सदस्य मानबहादुर बिष्टले आफ्नो वडामा रहेका विपन्न ५० घरपरिवारलाई सोलार वितरण गरेको बताए। वडामा रहेका अतिविपन्न परिवारको अबस्थालाई मूल्यांकन गरेर गाउँपालिकाले सोलार बितरण गरेको उनको भनाइ छ।

जनता माविको कक्षा ३ मा अध्ययनरत छात्रा हजुरा सुनार घरमा उज्यालो नहुँदा रातमा गृहकार्य गर्न पाउँदिनन्। १६ वर्ष अघि कर्णाली उज्यालो कार्यक्रमबाट मिलेको टुकीमारा अहिले बिग्रिसकेको छ। उज्यालोको अभावमा विद्यालयले दिएको गृहकार्य गर्न नसक्दा उनी नियमित विद्यालय जान पनि सकेकी छैनन्। हजुराजस्तै कक्षा ७ मा अध्यानरत छात्र सन्दीप बुढा मगरको पनि अवस्था उस्तै छ। उनलाई प्रत्येक दिन साँझ पर्ने बित्तिकै कसरी पढ्ने भन्ने चिन्ता लाग्छ। स्थानीय सरकारले गाउँपालिका भरी यस्ता घरधुरीको सर्वेक्षण गरेर सोलार वितरण गर्ने योजना बनाएको छ।

पालिकाको वडा नंं १ बाट यस्ता घरधुरी छनोट गरी उत्योलो बस्ति बनाउने नीतिका साथ विपन्न ५० घरधुरीलाई सोलार वितरण गरेको गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन्।

गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले गाउँपालिकामा रहेका विपन्न अन्य परिवारलाई क्रमशः सोलार सेट वितरण गर्ने बताए। उनले भने, ‘शुभकालिका गाउँपालिकामा रहेका प्रत्येक मन्दिरहरुमा समेत सोलार राखेका छौँ।’

शुभकालीका गाउँपालिकाको केही ठाउँमा राष्ट्रिय प्रसारण लाईन पुगे पनि धेरै ठाउमा अँध्यारो भएकाले स्थानीय सरकार पालिका उज्यालो बनाउन लागिपरेको छ।