Breaking

दुर्गा थुनिएपछि समर्थक उग्र, भारतीय ट्रक जलाइयो, ओलीविरुद्ध आन्दोलन छेड्ने चेतावनी

योहो संवाददाता

आईतबार आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाई माग गर्दै सोमबार देशका विभित्र स्थानमा प्रदर्शन भएको छ । उनका समर्थकहरूले झापादेखि काठमाडौंसम्मै प्रर्दशन गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेसँगै उनका समर्थकहरू आक्रामक देखिएका छन् । प्रहरीले आईतबार भक्तपुरस्थित निवसबाटै प्रसाईंलाई पक्राउ गरेको थियो । सोमबार उनको समर्थनमा समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रसाईंका समर्थकहरूले झापामा सवारीसाधन जलाएका छन् । प्रसाईंको पक्राउपछि आक्रोशित बनेका समर्थकहरूले झापाको छुट्टा–छुट्टै स्थानमा तीन वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेका हुन् ।

प्रसाईविरुद्ध चरित्रहत्या गर्ने गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर जाहेरी परेको थियो । त्यसैलाई आधार मानेर प्रहरीको साईबर ब्युरोको टोली पक्राउ गरेको थियो । एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले असोज २ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको भए पनि त्यसको तीन दिनपछि मात्रै उनलाई हिरासतमा लिएको हो ।

पक्राउपछि स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सककै सल्लाहमा प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको थियो । अहिले भने प्रहरीको साइबर ब्युरोले अस्पतालबाट लगेर प्रसाईंको बयान लिन सुरु गरेको छ । हिरासतमा लिईसकेपछि प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

प्रदर्शनमा प्रहरीले धरपकडठ गरेको छ भने कैयौं समर्थक पक्राउ परेका छन् । प्रसाईंकै नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली, नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची संयोजक दुरेन राई पनि हिरासतमा पुगेका छन् ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसुर अनुसार उजुरी पपरेकाले प्रसाईमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत नै प्रारम्भिक अनुसन्धान थालिएको छ । दफामा विद्युतीय रूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जस अनुसार प्रसाईंको हकमा पनि यही दफा लागू हुने देखिन्छ । तर प्रसाईंविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै तय हुने छ ।

एमाले र माओवादी मिलेर बनेको तत्कालिन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएरपछि प्रसाईं एकाएक चर्चामा आएका थिए । नेकपा फुटेपछि प्रसाईं एमालेका केन्द्रीय सदस्यसमेत बने । पार्टीको केन्द्रीय सदस्य हुँदा नै देशमा पुनः राजतन्त्र फर्काउने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि एमालेले दलबाट निष्कासन गरेको थियो ।

त्यसपछि विशेष गरेर ओली–प्रचण्डसँगको सम्बन्धमा दरार आएपछि दुर्गा प्रसाईं नेताका लागि टाउको दुखाई बन्दै आएका छन् । अहिले फरक मुद्दा भए पनि राजनीतिक रुपमा एमालेलाई सक्रियता मिलेको देखिन्छ । भने रास्वपा सभापति रवि लामिछानेविरुद्धको पक्राउतिर ध्यान भड्काउँदै दुर्गा तह लगाउने बाटोमा सरकार अघि बढेको विश्लेषण हुन थालेको छ ।