Breaking

दुई बालिका हत्या प्रकरण : श्रीमान्‌बाट धेरै टर्चर भएपछि पहिले मैले विष खाएँ अनि छोरीहरूलाई खुवाइदिएँ

योहो संवाददाता

काठमाडौँ— मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकी अस्मिता पौडेललाई सार्वजनिक गरेको हो ।

झापाको बिर्तामोडबाट पक्राउ गरी अस्मितालाई विराटनगर ल्याइएको थियो । उनले श्रीमान्‌बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको बताएकी छन् । श्रीमान्‌ले जहिले पनि ‘मारिदिने र तेरो पोस्टमार्टम गर्छु’ भन्ने गरेको प्रहरीसमक्ष बताएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए ।

उनले भनिन्, “पहिले मैले विष खाएँ, पेट पोल्न थाल्यो अनि छोरीहरूलाई खुवाइदिएँ” भन्दै प्रहरीसमक्ष बयान दिएकी छन् । छोरीहरू मरेपछि एकले अर्कोलाई अंगालो लगाइदिएर आफू भागेको अस्मिताले प्रहरीको सोधपुछका क्रममा भनेको एसपी कार्कीले जानकारी दिए ।एसपी कार्कीले भने, “अस्वस्थ्य अवस्थामा फेला परेकोले उहाँलाई अस्पताल भर्ना गरेका थियौँ । शारीरिक रूपमा निकै कमजोर देखिएको छ ।”

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरीहरू एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैँचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् । उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा ‘तेरा छोरी मारिदिइसकेँ, म पनि मर्छु’ भनेर म्यासेज पठाएको बयान दिएका छन् । पक्राउ परेकी अस्मितालाई थुनामा राख्न चारदिनको म्याद थप भएको छ ।