Breaking

शान्ति सुरक्षाको अत्यावश्यक कानून बनाउने काम पहिलो प्राथमिकता: गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानूनहरु बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले नेपाल प्रहरी ऐन, २०१२ लाई बिस्थापित गरी समसामुहिक, आधुनिक, परिमार्जित, नयाँ कानून बनाउन शुरु गरिएको बताए । उनले नेपाल प्रहरी सम्बन्धी नयाँ ऐन बनाउने गरी विधेयक गृह मन्त्रालयबाट पारित भइ पास गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको जानकारी दिए ।

अर्थ मन्त्रालयबाट फर्किएर आएपछि कानून मन्त्रालय गएर मन्त्रीपरिषद् हुँदै चाँडो भन्दा चाँडो त्यो विधेयक संसदमा प्रश्तुत गर्ने योजना रहेको बताए । उनले निर्वाचन सम्बन्धी ९ वटा कानूनलाई एकीकृत गरी परिमार्जनसहित आठ वटा कानून बिस्थापित गर्ने र एउटा निर्वाचन ऐनलाई समावेश गरी सबै कानूनलाई एकीकृत गरी मस्यौदा तयार पारी विधेयकका रुपमा पारित गरी अर्थ मन्त्रालयमा पठाइएको बताए ।

सशस्त्र प्रहरी सम्बन्धी नयाँ कानून निर्माणका लागि अन्तिम मस्यौदा तयारीको चरणमा रहेको उनको भनाई छ । कारागार नियमावलीको मस्यौदा तयार गरी रायसहितका लागि अर्थ मन्त्रालय पठाइसकेको जानकारी दिए ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षाका लागि स्थानीय प्रशासन ऐन लगायतका अरु कानून पनि समसामयिक रुपले परिमार्जन गर्नेकुरा पहिलो प्राथमिकतामा रहेको बताए ।