Breaking

थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न शनिबार विज्ञसहितको टोली त्यसतर्फ जाने

योहो संवाददाता

काठमाडौँ— सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो । टोलीले आजै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसी बताउँछन् ।

उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ । रक्षा मन्त्रालय स्रोतका अनुसार, सम्भवतः रक्षामन्त्री मानवीर राई समेत त्यसतर्फ जानेछन् । बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो’, प्राधिकरणका एक अधिकारीले भने । थामे खोलामा आज दिउँसो आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् भने नेपाली सेनाले ७ जनाको उद्दार गरेको छ ।