Breaking

काठमाडौंमै डर लाग्दो ‘ग्याङ्ग फाइट’, बाहिरियो खुकुरी हानेको दृश्य

योहो संवाददाता

काठमाडौंको ढल्कुमा गत बुधबार छिमेकी दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका अमित पुजारीको परिवारले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको छ । झडपमा परी परिवारका अन्य तीन सदस्यसमेत सिकिस्त घाइते भएको र आईसीयुमा राखेर उपचार भइरहे पनि खर्च अभावले समस्यामा परेको गुनासोसमेत गरेको छ ।

गत बुधबार काठमाडौंको ढल्कुमा फिल्मी शैलीमा एक युवकको ज्यान जाने गरी घटना घट्यो । जुन दृश्य भिडियोमा कैद नभएको भए विश्वास गर्न गाह्रो हुनेथियो । सेतो टिसर्ट लगाएका एक युवक हातमा खुकुरी लिएर झडप भइरहेको भीडतिर दौडन्छन् । हातमा रहेको त्यही धारिलो हतियारले अर्का युवकमाथि केराको थम्बा छप्काए झै छप्काउँछन् । लगत्तै हतियार प्रहार भएका युवक ढल्न पुग्छन् ।

घटना यही साउन १६ गते दिउँसो ३ बजेतिरको हो । सबै मानिस आ आफ्नै व्यस्ततामा रहेका बेला काठमाडौं ढल्कुस्थित पोडेटोल भने एकाएक रणभूमिमा परिणत भयो । केही युवाकोएउटा हुल हातमा धारिलो हतियार, रड र लाठ्ठी लिएर आफ्नै काममा व्यस्त रहेको स्थानीय पुजारी परिवारमाथि एकाएक जाइ लाग्छन् । योसँगै दुईपक्षबीच भिडन्त सुरु हुन्छ । झडपकै बीचमा धारिलो हतियार प्रहारबाट ३३ वर्षीय अमित पुजारीको ज्यान गएको छ । सिकिस्त घाइते उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उनको मृत्युपछि अहिले परिवारका सदस्य विक्षिप्त बनेका छन् ।

यस्तै, सो झडपमा माया पुजारी, दिनेश पुजारी, विक्रम पुजारी, सुविन्द्र पोडे, किरण पुजारी र अमृत पुजारीसहित ६ जना घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घटना घटेको केही समयमै प्रहरीलाई खबर गरिएको भए पनि समयमै प्रहरी उपस्थित नहुँदा मानवीय क्षति व्यहोर्नु परेको मृतक अमितकी आमाको गुनासो छ ।अमित पुजारी परिवारको कान्छो सन्तान थिए । घटनामा घाइते भएका दुई छोरा र एक बुहारीको आईसीयुमा उपचार भइरहेको आमा किसनदेवी पुजारीले जानकारी दिइन् । उपचारमा मात्रै हालसम्म ऋण लिएर १० लाख खर्च भएको र अब उपचार गराउने पैसा नभएको भन्दै उनले दुखेसो पोखिन् ।

अमितको डेढ वर्षका मात्रै बच्चा छन् । दुधे बच्चालाई काखमा च्याप्दै अमितकी श्रीमतीले आफ्ना पतिको ज्यान लिनेहरुलाई हदैसम्मको कारबाही हुनु पर्ने माग गरिन् ।

प्रहरीका अनुसार पुरानो रिसिबीको कारण घटना घटेको हो । पोडेटोलस्थित इन्द्रेणी मन्दिरको पुनर्निर्माणको काम भइरहेको थियो । मन्दिरको रेखदेखदेखि निर्माणकार्यमा अमित र किरण पुजारी खटिएका थिए ।मन्दिरको मर्मत तथा रेखदेखमा सोमबार अमितका दाइ विक्रम र किरण खटिएका थिए । त्यही बेला निर्माणाधीन मन्दिरमा कुल्चिएको भन्दै दुई पक्षबीच विवाद भएको थियो । कुटपिट भएको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सोही विषयमा हाम्रो मान्छोलाई किरणले थुनाएको भन्दै अमित, विक्रम, अमृत र दिनेशले किरणलाई आरोप लगाएपछि बुधबार उनीहरुबीच विवाद भएको थियो । सोमबारको घटनाले बुधबार छिमेकी दुई समूहबीच झडपको अवस्था सिर्जना भएको प्रहरी अधिकारीको भनाइ छ । त्यसक्रममा सुविन्द्रले घरबाट खुकुरी लिएर गएको र उनले प्रहार गरेको खुकुरी लागेर अमितको ज्यान गएको पाइएको प्रहरीले जनाएको छ ।

बुधबारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टीकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् । प्रहरीले घटनास्थलबाट एउटा खुकुरी पनि बरामद गरेको छ ।यसअघि पनि काठमाडौंको सोह्रखुट्टे, ठमेल क्षेत्रमा हतियार प्रहारका घटना हुने गरेका थिए । व्यक्तिगत रिसिबीकै कारण यी क्षेत्रमा झडप तथा ग्यांग फाइटका घटना बढेको प्रहरी अधिकारीहरुकै भनाइ छ । यसले यहाँको शान्ति सुरक्षामा समेत चुनौती बढेको देखिन्छ ।