काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् ।
सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गरेर कहिले सक्ने लक्ष्य छ भनेर सोधेका थिए ।
त्यस्तै उनको दोस्रो प्रश्न थियो– आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ र कहिलेदेखि सुरु गर्ने तयारी छ ?
उनको तेस्रो प्रश्न थियो, –गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारी के छ ?
त्यसपछि जवाफ दिन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा जवाफ दिए ।
उनले आफूले उद्योगीले विद्युत महसुल तिर्नुपर्दैन नभनेको तर संसदमा यस विषयमा प्रश्न उठाएको भन्दै आपत्ति जनाए । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु नहुँदै शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रकलाइन विवादमा प्रधानमन्त्रीले संसदमा झुटो बोलेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न आग्रह गरे ।


प्रतिक्रिया