Breaking

प्रचण्डलाई पन्छाउँदै माओवादी, नारायणकाजी र जनार्दनको एकै स्वर, सत्ताको खेल छोड्ने, पार्टी हाक्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— सत्ताबाट हात धुनु परेको नेकपा माओवादी केन्द्र अब पूर्णतः पार्टी सुदृढीकरणमा लाग्नु पर्ने भए पनि त्यस्तो सङ्केत केही देखाएको छैन । आफ्नो पार्टीलाईभन्दा समाजावादी मोर्चालाई तंग्य्राउनतर्फ जुटेको माओवादी नेतृत्वको आफ्नै एजेण्डाबाट विश्वास गुम्दा पार्टीको भविष्य नै सङ्कटमा देखिएको छ ।

सत्तामा हुँदा नै पार्टीलाई सुदृढीकरण गर्नतर्फ जुटेको नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ भन्दै तीन महिने कार्यक्रम सञ्चालन गरेको थियो । देशभरका सात हजार दुई सय ४३ वडामा शीर्ष नेताहरू गएर जनतासँग भिज्दै सुझाव र आलोचना दुवै लिएर अघि बढ्ने कार्यक्रम तय भए पनि त्यसको खास प्रभाव भने देखिएन । घर घरमा माओवादी जन जनमा माओवादीको नारा दिएर अन्तिम परीक्षाको रुपमा लिएको माओवादी यसमा पूर्णरुपमा फेल भएपछि समाजवादी मोर्चालाई तंग्य्राउन जोडबल गरिरहेको छ । सत्ता गुमाइसकेपछि छटपटिएमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै ब्राण्ड र एजेण्डामा विश्वस्त हुन नसक्दा समाजवादी मोर्चा खोज्दै हिँडेका छन् । प्रचण्डलाई पार्टीप्रति यति धेरै निराशा बढेको छ कि गत फागुनमा तीन दिनसम्म चलेको पार्टीको प्रथम विधान अधिवेशनमा नामदेखि झण्डा फेर्नेसम्मको विषयले स्थान पाएको थियो । यदि प्रचण्डलाई पार्टी अगाडि ल्याउन सक्छु भन्ने आत्मविश्वास भएको भए उनी मोर्चालाई छोडेर माओवादीको गुम्दै गएको साख जोगाउन तर्फ सक्रिय हुने थिए । नेतृत्व पार्र्टी चलाउन नसक्ने अवस्थामा आइपुगेको विश्लेषणका साथै अब प्रचण्डले नेतृत्व छोड्नु पर्छ भत्रे माओवादीका नेताले दिने अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

सत्ता र सदनको राजनीतिबाट जनयुद्धको उपलब्धि हासिल हुँदैन भनेर सशस्त्र युद्धका सहयात्री मोहन वैद्यले प्रचण्डको साथ छोडेका थिए । हेटाँैडा महाधिवेशनबाट बाबुराम भट्टराईले पनि जनआन्दोलनबाट देशले हासिल गर्न सक्ने जति सबै उपलब्धि हासिल गरिसकेको हुँदा अब यहाँबाट पनि अघि बढ्नु पर्ने मत राख्दै माओवादीबाट बाहिरिएका थिए । अहिले सत्ता गुमिसकेपछि माओवादीको काम भनेकै ओलीलाई गाली गर्ने मात्र भएको छ । यी सबैको समीक्षा गरेर पार्टीलाई अब्बल बनाउनुभन्दा समाजवादी मोर्चालाई सक्रिय पार्ने र चार माहिनामा सरकार ढाल्नेभन्दा अर्काे एजेण्डा माओवादीसँग छैन ।

नुनले नुनिलो हुने आफ्नो धर्म छोड्दा त्यसको औचित्य सकिए झै माओवादीले आफ्नो माओवादी आन्दोलनकै अस्तित्व गुमाउँदा पार्टीको औचित्य पनि सकिँदै गएको छ । जनतामाझ पार्टीप्रतिको लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागिरहँदा पनि प्राथमिकतामा सत्ताभन्दा अरु छैन । कम्युनिस्टहरूको ६० प्रतिशत जनमत भएको देशमा आफूलाई असली कम्युनिस्ट भएको दाबी गर्ने माओवादीको अवस्था दयनीय बन्दै गएको छ । १८ महिना सरकारको नेतृत्व गरेर सत्ताबाट बाहिरिएको माओवादी जनतामाझ जानै डराइरहेको छ । संसदीय राजनीतिमा पाइला टेकेको १५ वर्षमध्ये १० वर्षभन्दा बढी सत्तामा रहेर आफ्नो माओवादी आन्दोलन नै गुमाएको पार्टीले जनतामाझ गएर तिखारिएर आउँछौँ भन्न सक्ने आँट गर्नै सकेको छैन । सत्ता ढाल्ने कांग्रेसप्रति नरम देखिएका माओवादी नेताहरू प्रधानमन्त्री केपी ओली शर्मामाथि भने सत्तोसराप गरिरहेका छन् । तर, ओली देउवालाई मिल्न दिएर जनतासँग भिजेर हजाराँै समस्या सम्बोधन गर्ने आँट माओवादीले गर्नै सकेको छैन ।

माओवादीले जनयुद्धताका उठाएका आफ्ना एजेण्डाहरू अझै पनि ज्यूँकात्यु छन् । पार्टीलाई सीमान्तकृतदेखि समावेशी बनाउन सबैका मुद्दालाई जबरजस्त रुपमा सम्बोधन गराउने अवसर छ । समाजदेखि सरकारसम्म समान प्रतिनिधि भनिए पनि अहिलेको मन्त्रिपरिषद् नै दलितविहीन हुँदा महिलालाई विभेद गरिएको छ । यो विषयमासमेत माओवादी मौन देखिएको छ । त्यही जनयुद्धबाट आफ्नो आधारस्तम्भ बनाएको माओवादी आफ्नो एजेण्डा जीवित हुँदा पनि यही एजेण्डाबाट आफ्नो विरासत फर्किन्छ भन्ने विश्वासमा छैन । बरु नयाँ दलहरू जनतामाझ गएरै आफ्नो विरासत बढाउन सकिन्छ भन्नेमा विश्वस्त देखिँदा मओवादी भने आफ्नै एजेण्डालाई स्थापित गराउनसमेत चुकिरहेको छ ।