बालाराम शेर्पाली
रुकुमपूर्व । घना जंगल । अग्ला भीर । चट्टानको साँघुरो काप । त्यही काप चिरेर निरन्तर झरिरहने पानीको गर्जन। यी सबै दृश्यले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा रहेको गुल्जा झरनालाई प्राकृतिक सम्पदामध्ये फरक पहिचान दिएको छ । समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटरको उचाइमा अवस्थित यो झरना दुर्गम हिमाली जंगलको काखमा भए पनि पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बटुल्न थालेको छ।

गुल्जा झरनाको सबैभन्दा ठूलो विशेषता यसको बनोट हो। अधिकांश झरना जमिनको मूल वा खोलाबाट बग्ने गर्छन्। तर गुल्जा झरना भने विशाल चट्टानको बीच भाग चिरेर बाहिर निस्कन्छ र सयौं फिट तल खस्छ। झरनाको गर्जन, वरिपरिका अग्ला भीर, बाक्लो हरियाली र प्राकृतिक रूपमा बनेको साँघुरो चट्टानी गल्छीले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको अद्भुत संसारमा पुगेको अनुभूति गराउँछ ।

झरनासम्म पुग्न भने सहज छैन। उकालो–ओरालो, घना जंगल र दुर्गम पदमार्ग पार गर्नुपर्छ। तर गन्तव्यमा पुगेर देखिने दृश्यले यात्राको कठिनाइलाई सहज बनाइदिन्छ । त्यसैले गुल्जा झरना अहिले साहसिक पर्यटन र प्रकृतिप्रेमीहरूको नयाँ रोजाइ बन्न थालेको छ।

झरनामा पुग्ने पर्यटकहरू केवल प्राकृतिक दृश्यमा मात्र रमाउँदैनन्। स्थानीय युवायुवतीहरू परम्परागत पोशाक र गहनामा सजिएर झरनाको काखमा फोटो तथा भिडियो खिच्न थालेपछि यहाँको मौलिक संस्कृति पनि पर्यटनसँग जोडिन थालेको छ । यसले गुल्जा झरनालाई प्राकृतिक मात्र होइन, सांस्कृतिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा चिनाउन मद्दत गरेको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुजिराज घर्ती मगर ले गुल्जा झरना गाउँपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको संरक्षण र पर्यटन विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले झरनासम्म पहुँच सहज बनाउने, पदमार्ग स्तरोन्नति गर्ने, आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्ने र राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

स्थानीय जितेन सेतिमहरका अनुसार गुल्जा झरनाको वास्तविक सौन्दर्य क्यामेराले भन्दा प्रत्यक्ष आँखाले हेर्दा अझ मनमोहक देखिन्छ । “यस्तो प्राकृतिक सम्पदा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । प्रचार–प्रसार र पूर्वाधार निर्माण गर्न सके यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्नेछ,“ उनले भने।
झरनाको अवलोकनका लागि तीन हिडेर पुगेकी सिस्ने गाउँपालिका –४, दाडिङकी करुणा पुन ले सामाजिक सञ्जालमा देखेकोभन्दा प्रत्यक्ष दृश्य धेरै नै आकर्षक लागेको बताइन्। “प्राकृतिक वातावरण, झरनाको गर्जन र यहाँको हरियालीले मन लोभ्यायो । यस्तो ठाउँको प्रचार देशभर हुनुपर्छ,“ उनले भनिन्।
स्थानीय आसिका विक ले प्राकृतिक सम्पदासँगै स्थानीय संस्कृति र पहिचानलाई पनि पर्यटनसँग जोड्नुपर्ने बताइन्। “हाम्रो मौलिक पहिरन, संस्कृति र प्राकृतिक सम्पदा एउटै ठाउँमा देख्न पाइन्छ । यी सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीयको जीवनस्तर सुधार्न सकिन्छ,“ उनले भनिन्।

यद्यपि, यति ठूलो सम्भावना बोकेको गुल्जा झरना अझै पनि ओझेलमै छ । व्यवस्थित पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र, सुरक्षाका आधारभूत संरचना र प्रभावकारी प्रचार–प्रसारको अभावले यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक लगानी गर्दै पूर्वाधार निर्माण र संरक्षणमा ध्यान दिए गुल्जा झरना रुकुमपूर्वको मात्र होइन, लुम्बिनी प्रदेशकै प्रमुख प्राकृतिक पर्यटकीय गन्तव्य बन्न सक्छ ।


प्रतिक्रिया