Breaking

थुनाबाटै देश हल्लाउँदै बेचन झा, प्रचण्ड र रविको कस्तो भूमिका ?

योहो संवाददाता

काठमाडौँ – नक्कली भूटानी शरणार्थी र गिरीबन्धुमा भएको अनियमिततालाई मिलाउनकै लागि नयाँ समीकरण बत्र लागेको आरोप एमाले कांग्रेसमाथि निरन्तर लागिरहेको छ । प्रधानमन्त्री र गृहमन्त्रीसहित आमजनताले पनि आफूमाथि लागेको दाग मेटाउन सत्ता सहकार्य गरेको गम्भीर आरोप लगाइरहँदा सत्ताको बागडोर सम्हाल्न लागेका यी दुई दलले यसलाई कसरी सम्बोधन गर्लान् ?

नक्कली भूटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउको ४८ घण्टा बित्न नपाउँदै नाटकीय रुपमा सत्ता समीकरणमा भएको फेरबदलले हिजोसम्म ‘जानी दुश्मन’ भएकाहरू एकैरातमा आत्मीय मित्र बन्न पुगेका छन् । हिजोसम्म गिरीबन्धु टि इस्टेटमा अनियमितता गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मालाई जेल हाल्न सडक र सदनमा आवाज उठाएको नेपाली कांग्रेस उनैलाई सरकारको नेतृत्व सम्हालिदिन भन्दै बिन्ती टक्र्याउँदै बालकोटको धैलोमा पुग्यो ।

कांग्रेसी नेताहरू अहिले ओली नेतृत्वको सरकारमा सामेल हुन पार्टी सभापति शेरबहादुर देउवासँग बिन्ती बिसाउन पुगिरहेका छन् । आफू प्रतिपक्षमा हुँदा वर्तमान सरकारलाई ‘सहकारीबन्धु’को शंज्ञा दिएको कांग्रेस अहिले आफँै एमालेसँग पिरती गाँस्न जाँदा ‘भूटानीबन्धु’को बिल्ला भिर्नु पर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री र गृहमन्त्रीसहित सिङ्गो सत्ता पक्ष र आम जनताले पनि गिरीबन्धु र शरणार्थी प्रकरण मिलाउनकै लागि नयाँ समीकरण बनेको टिप्पणी गरिरहँदा अब यो मुद्दा जबरजस्त रुपमा उठ्ने सङ्केत गरिसकेको छ ।

शरणार्थी र गिरीबन्धुको फाइललाई रापसाफ गर्न नै कांग्रेस र एमाले मिलेको गम्भीर आरोप यी दुई ठूला दलमाथि लागिरहेको छ । उनीहरूले आफूहरूको मिलन भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापित गर्न प्रतिबद्ध रहेको दाबी गरे पनि शरणार्थी काण्डमा बेचन झाको पक्राउ पछि खुलेका फाइलले सुशासनप्रति प्रतिबद्ध रहेको देउवा दम्पतीको चैन उडेको छ ।

पक्राउ परेको ११ दिन बितिसक्दा पनि चुईक्क मुख नखोलेका बेचन यो सरकार हुँदासम्म जसोतसो बयान टार्ने रणनीतिमा देखिन्छन् । यस किसिमको घटनाक्रमले पनि थप आशङ्का बढिरहँदा आफ्नै पार्टीको नेतृत्वमा सत्ता सञ्चालन हुने भए पछि खुशी देखिएका एमालेका नेताहरू यी मात्रै नभएर अन्य भ्रष्टाचारका काण्ड पनि प्रभावकारी ढङ्गले छानविन हुने बताइरहेका छन् ।

एमालेका नेताहरूले प्रभावकारी तवरले छानबिन हुन्छ भनिरहँदा प्रधानमन्त्री हुनु पूर्व नै ओलीले सत्ताको रवाफमा नीतिगत रुपमा गरेको भ्रष्टाचार नीतिगत रुपमा नै सच्याएका छन् । नेकपा माओवादी केन्द्रको साथ छोडेर र कांग्रेस सभापति देउवाको हात समाउन पुगेका ओली आफू जोगिनकै लागि लगानी सहजीकरणसम्बन्धी विधेयकमार्फत हदबन्दी छुट पाएको जग्गा एक पटकका लागि बिक्री गर्न पाइने कानुन पारित गराउन सफल भइसकेका छन् ।

कांग्रेस सत्तामा गएकै भरमा गिरीबन्धुको आवाज बन्द हुने टिप्पणी भइरहँदा तथ्यहरूले पुष्टि गरेका विषयमा पार्टी मौन नबस्ने नेताहरू बताउँछन् । सरकारमा जान मात्रै सहमति गरेको भए पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउने भनिरहेका उनीहरू ओलीसँग जवाफ माग्ने तयारीमा छन् ।

सत्ता बचाउनका लागि आफूलाई सुविधा हुने गरि मात्रै भ्रष्टाचारको फाइल खोल्ने परिपाटी बन्दा निराशा बढ्दो छ भने एकअर्काको कमजोरीलाई देखाएर आफ्नो कुकृत्य लुकाउन जुनसुकै हदको कदम चाल्न पनि नहिच्किचाउनेहरूको हातमा देशको नेतृत्व पुग्दैछ । आफ्नो स्वार्थ पूर्तिका लागि दल अदलबदल गरिरहनेहरूले आफ्नै बर्खिलाफ गएर सुशासन कायम गर्लान् ? जनाकारहरूको बुझाइ यस्तो छ ।

मध्यरातमा एउटा बन्द कोठाभित्र दुई वृद्ध नेता बसेर अर्काे तेस्रो व्यक्तिले फोटो खिचेकै भरमा सत्ता परिवर्तन हुने सङ्घारमा देश छ । गिरीबन्धु टि इस्टेटमा भएको अनियमितताबारे एमाले अध्यक्ष आलीविरुद्ध बढो जोरस्वरका साथ आवाज उठाएको कांग्रेस अब त्यही एमालेसँग मिलेर सत्ता सहकार्य गर्दैछ ।

बेचन झालाई पक्रेर भूटानी शरणार्थीको फाइल पुनः खोल्दा कांग्रेसी नेताको चैन उड्दा नयाँ समीकरणको मुख्य कारक नै ‘भूटानी बन्धु’ भएको टिप्पणी भइरहेको छ । यी प्रकरणमाथि छानविन गर्ने ठाउँमा नै एमाले कांग्रेसको हालीमुहाली हुनेहुँदा यसले न्यायिक रुप पाउँदै किनारा लाग्ला वा गुपचुप सामसुम होला आगामी दिनले नै तय गर्ला । तर,सत्ता र शक्तिको बलमा भूटानी बन्धुलाई ढिसमिस पार्न खोजिएको हो भने यी मुद्दालाई नजिकबाट नियाली रहेका जनताले ८४ को चुनावमा एमाले कांग्रेसको हिसाब किताब गर्ने निश्चित छ ।