Breaking

कर्णालीका सडकमा बजेट नछुट्ट्याइए संसद् भवन घेराउ गर्ने चेतावनी

योहो संवाददाता

काठमाडौँ— नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका निमित बजेट नछुट्ट्याइए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका निम्ति बजेट नछुट्ट्याएको भन्दै आपत्ति जनाए । उनले कर्णाली प्रदेशका राजमार्ग मृत्यु राजमार्ग बनेका उल्लेख गरे ।

“गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ?,” उनले प्रश्न गरे ।

उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरे त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए । “यही तरिकाले सरकारले गर्‍यो भने कर्णालीका प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्नेछ । मन्त्रालय घेराउ गर्नुपर्नेछ,” उनले भने, “यदि, सचेत भएर यी बाटाहरूमा बजेट छुट्ट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु ।”

सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।