काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
संसद सचिवालयका कर्मचारीहरुले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका बेला नेपाली काँग्रेसले उनीहरुको सो माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरुको माग तत्काल सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
सोमवार सिंहदरबार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्नेबारे दलहरुसँग छलफल गर्नुभएको थियो ।
सोही बैठकमार्फत संसद सचिवालयका कर्मचारीहरुले राख्नुभएको बैठक भत्ता लगायतको काम उचित, जायज र न्यायसम्मत भएकाले माग तत्काल सम्बोधन हुनेगरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको पनि स्पष्ट पारे । त्यसैगरी प्रमुख सचेतक लेखकले संसदका लागि आवश्यक बजेटको तत्काल निकासा गर्न पनि सरकारलाई सचेत गराए ।
संसदको कामलाई प्रभावकारी बनाउने गरी अर्थमन्त्रालयले संसदलाई बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । बैठकमा सबै राजनीतिक दलहरुले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन हुनेगरी सरकारले तत्काल बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया