अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेकाछन् ।
मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले हिजो मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो ।
३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो । पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।
सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि हिजो समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ ।
त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक÷एक सिट छ । सरकार बनाउन वा बचाउन चाहिने अवश्यक ५४ सिट जसपाको पुग्दैन ।


प्रतिक्रिया