Breaking

रविले थुनेका सिरोहिया प्रचण्डको नजरमा निर्दोष, छुटाउन देउवादेखि अमेरिकासम्म लागे (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई कतिपयले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने कदमका रुपमा लिएका छन् । यसबारे कांग्रेसले खुल्लमखुल्ला विरोध गरेपछि यो मुद्दाले अब राजनीतिक रङसमेत पाएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा धेरैले प्रेस स्वतन्त्रतामाथिकै प्रहारको रुपमा देखे । धेरै ठूलो तप्कामा खुसियाली छाएको छ । तर, कांग्रेसका केही सांसदहरुले कान्तिपुर पब्लिकेसन्सको मुख्यालयमै गएर सिरोहियालाई सान्त्वना दिने प्रयास गरे । दोहोरो नागरिकतासम्बन्धी फौजदारी आरोपमा सिरोहियालाई प्रहरीले पक्राउ गरेको प्रष्ट छ ।

तर, यसलाई कांग्रेसले लोकतन्त्रमाथिकै प्रहारका रुपमा देख्यो र त्यसै अनुरुप आफ्नो अभिव्यक्ति सार्वजनिक पनि ग¥यो । यही कांग्रेसका तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेल हुन् जसले २०५८ सालमा टिप्पणी लेखेकै भरमा सिरोहियालाई नै पक्राउ गरेका थिए । यसले यो प्रकरणमा राजनीतिकरण भएको प्रस्ट छ । हुँदाहुँदा नेपालस्थित अमेरिकी दूतावासलेसमेत सिरोहिया पक्राउको घुमाउरो भाषामा विरोध गरेको छ । तर सिरोहिया आफँैबाट भएको गलत कार्यले पक्राउ परे वा समाचार लेखेका भरमा भन्नेबारे ठूलो बहस छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको समाचार कान्तिपुरले निरन्तर प्रकाशन र प्रसारण गरेपछि उनले प्रतिशोध साँधेको आरोपका बिच सरकारले जवाफ दिनुपर्ने विषय उठेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरोहियालाई भने अदालतमा उपस्थित गराउनुभन्दा पहिले नै उनलाई निर्दोशिताको प्रमाणपत्र दिइसकेका छन् । जसरी हिजो रवि लामिछानेलाई दिएका थिए । उनले सिरोहिया निर्दोष ठहरिने दाबी गरेका छन् ।

यसरी आफैँले थुनाएका व्यक्तिलाई अदालतभन्दा पहिले चोख्याउने छुट प्रचण्डलाई कसले दियो ? कैलाश सिरोहिया पत्रकार नभई सञ्चार उद्यमी हुन् । फरक कसुरमा उनी पक्राउ पर्नु प्रेस स्वतन्त्रताको हनन् हुँदै होइन । १८ वर्ष नपुग्दै कसरी नागरिकता लिए ?, अंगिकृतका सन्तानले वंशजको नागरिकता कसरी पाए ?, दुई व्यक्तिको नागरिकता नम्बर एउटै कसरी भयो ? लगायतका कैफियत सिरोहियामाथि छन् । तर कान्तिपुरले धारावाहिक रुपमा सहकारी ठगीबारे समाचार लेखिरहेकाले गृहमन्त्री रविले व्यक्तिगत प्रतिशोध साँधेको टिप्पणी भइरहेको छ । यसरी हेर्दा रवि र सिरोहियाको व्यक्तिगत प्रतिशोध पनि देखिन्छ । यसका लागि उनीहरुको विगतलाई बुझौँ ।

नागरिकता विवादकै कारण पहिलो पटक आफ्नो गृहमन्त्री र सांसद पदसमेत खुस्किएपछि लामिछानेले कान्तिपुरमाथि आगो ओकलेका थिए । आधारहीन समाचार लेखे कान्तिपुर घेर्ने चेतावनीसम्मै दिएका थिए । लामिछानेले नै सिरोहियाका कर्तुत खोतल्न सिधाकुराको डार्क फाइलमार्फत अडियो काण्ड बाहिर ल्याएको चर्चा हुने गरेको छ । सिरोहियाका कर्तुत खोतल्नकै लागि रास्वपाका सहकोषाध्यक्ष दिपक बोहरालाई एक हप्तादेखि जनकपुरमा खटाइएको थियो । विगतमा कांग्रेस, एमाले हुँदै अहिले रास्वपामै रहेका सर्लाहीका डा. इन्द्रजीत महतोलाई उजुरी दिन लगाएको चर्चा छ । यसबीचमा पनि संसदमै कान्तिपुरलगायतका मिडियाहरुमाथि आक्रामक रुपमा प्रस्तुत हुने गरेका गृहमन्त्री लामिछानेले आफूले मिडिया मिलाउन नसक्ने बताएका थिए । तर स्वर्णिम वाग्ले लगायतका नेताहरुले यसबीचमै कान्तिपुर मिलाउने प्रयास नगरेका पनि होइनन् । तर, सफल हुन सकेनन् । अहिले यस प्रकरणमा स्वर्णिम मौन छन् । पक्राउ परेपछि सिरोहियाले पनि आफ्नो मौखिक उजुरीमा लामिछानेमाथि दोहोरो राहदानीमा छानविन गर्न गिरफ्तार गर्नुपर्ने बताएका थिए । यसले पनि यो प्रेस स्वतन्त्रताको विषयभन्दा बढी सिरोहियाले मिडियालाई हेड अफ द मिडिया र रविले आफूलाई हेड अफ द स्टेट मान्दा देखिएको व्यक्तिगत स्वार्थको टकराव हो ।

तर, सिरोहियालाई पक्राउ गर्नेबारे प्रधानमन्त्री र गृहमन्त्रीका मत बाझिएका छन् । प्रधानमन्त्रीको सचिवालयले नै प्रधानमन्त्रीले तत्काल राक्न भने पनि गृहमन्त्रीले पक्राउ गर्न दबाब दिएको देखिएको छ । तर व्यक्तिगत प्रतिशोध साँधेको आरोप लागेपछि रास्वपाले प्रष्टीकरण दिँदै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको र सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने, राज्य जाग्नुपर्ने स्पष्ट पारेको छ । यसबाहेक सत्तारुढ दलहरुले नै पनि प्रतिशोधका आधारमा पक्राउ गरिनु दुःखद् भएको बताएका छन् । कांग्रेसले भने यसलाई सरकारको अधिनायकवादी चरित्रका रुपमा पटक पटक अथ्र्याएको छ ।

केही समयअघि मात्रै सिधा कुरा नामको अनलाइनले ‘द डार्क फाइल’ नामक कार्यक्रमबाट कैलाश सिरोहियासमेत जोडिएको बार्गेनिङको एक अडियो सार्वजनिक गरेको थियो । अडियो प्रमाणित नभए कानुनी कारबाही गर्ने प्रशस्त आधार थिए । तर, प्रेस काउन्सिल र अदालत समेत गुहारेर समाचार नै हटाउन लगाउनु प्रेस स्वतन्त्रता कुण्ठित गर्नु थियो । अहिले सिरोहिया पक्राउ गरे आफूविरुद्धका समाचार रोकिने नियतले कदम चालिनु पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास हो । यद्यपि यी दुवै घटनामा ‘चिन्ता बुढी मरी भन्दा पनि काल पल्केकोमा हो’ । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनियत कसैले नराखोस् । सञ्चारमाध्यम र सरकार कतैबाट पनि पूर्वाग्रह र प्रतिशोध प्रकट नहोस् ।